मृत घोषणा गरिएको १० घण्टापछि पुर्नजीवित

२०७६ फागुन १८ आइतवार
Newsdesk Shikharnews

युक्रेन, फागुन १८ । युक्रेनमा ८३ वर्षीया वृद्ध मृत घोषणा गरिएको १० घण्टापछि पुर्नजीवित भएकी छन् । स्टिरजावका शहरका वाली जीनिया दिमुख रिटायर्ड नर्स हुन् । उनी एक हप्ताअघि कोमामा थिइन् । उनका परिवारले उपचारका लागि घरमा डाक्टर बोलाए । ती महिलाको अवस्था गम्भीर भएको कारण उनलाई अस्पताल लगिएमा समस्या बढ्न सक्ने डरले घरमै औषधी उपचारसहित आराम गर्न भनियो ।

तर केही समयपछि जीनियाले शवास फेर्न छोडिन् । यस पटक परिवारले डाक्टरसँगै प्रहरीलाई पनि बोलाए । डाक्टरले जाँच गरेपछि जीनियाले संसार छोडिसकेको बताए । यसपछि परिवारले क्रिया सुरु गरे । स्थानीय अधिकारीहरूले उनको मृत्यु दर्ता समेत गर्न भ्याए । र परिवारले एक चिहान खनेर पास्टरलाई बोलाए ।

जीनियाको परिवारले उनलाई गाड्न सबै व्यवस्था गरिसकेका थिए । यसपछि उनकी छोरीले केही अनौठो महसुस गरिन् । जीनियाको निधार तातो थियो । उनी जिउँदै थिइन् । उनलाई अस्पताल पनि लगियो ।

३७ वर्षको चिकित्सा यात्रामा यो पहिलो घटना हो, जीनियाको उपचार गर्ने डा। भ्लादिमीर चेकोटारेभले भने ।
जब जीनयालाई अस्पताल पुर्या‍इयो उनी स्टेज ३ कोमामा पुगेकी थिइन् । स्टेज ३ कोमामा भएका बिरामी एक जिउँदो लाश बनिदिन्छन् । एक हप्ता अस्पतालको बसाईपछि जीनिया कोमाबाट बाहिर आएकी छन् ।

निको भएपछि जीनियाले कोमाको बेलामा देखेका घटना विस्तारमा बताइन्, ‘मैले स्वर्ग देखेको थिएँ, त्यहाँ मैले मेरो बुवालाई बोलाए।’ मैले उनलाई सोधेँ स्वर्गमा बस्न सजिलो छ ? मैले उसलाई भेट्ने आशा गरें, तर जब मैले मेरो आँखा खोलें, मेरा वरिपरि सेतो लुगा लगाएका मानिस थिए । मलाई लाग्यो तिनीहरू स्वर्गदूतहरू हुन्, तर उनीहरू डाक्टरहरू थिए। भगवानको कृपाले मैले फेरि जीवन पाएँ।’एजेन्सी

Advertisement