सामाजिक सुरक्षा भत्ता दैलोदैलोमामा बाँड्दै बैङ्क

२०७६ फागुन २२ बिहीवार
Newsdesk Shikharnews

काठमाडौ, फागुन २२ । तनहुँको दमौलीमा शाखा कार्यालय रहेका कतिपय बैङ्कले घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन् । व्यास नगरपालिकाका वडामा सो भत्ता वितरणको जिम्मा पाएको प्रभु र महालक्ष्मी विकास बैङ्कले घरदैलोमा नै पुगेर भत्ता बापतको रकम सेवाग्राहीलाई वितरण गरेका छन् ।

अझै कतिपय बैङ्कले शाखामा नै बोलाएर भत्ता वितरण गर्ने गरेका छन् । प्रभु बैङ्कले व्यास नगरपालिका–५ को समन्वयमा भत्ता बापतको रकम वितरण गरेको छ । उसले वडाको तीन ठाउँबाट ४ सय १३ लाभग्राहीलाई भत्ता वापतको रकम वितरण गरेको बैङ्कका क्लष्टर हेड राजु रानाले जानकारी दिनुभयो । उहाँका अनुसार वडा कार्यालयबाट २ सय ४३, रानीटारी सामुदायिक भवनबाट १ सय ५ र चिन्तुटार दरै समाजबाट ६५ जनाले भत्ता बुझेका छन् ।

ज्येष्ठ नागरिकलाई भत्ता लिनका लागि सदरमुकाम दमौलीसम्म आउन नपरोस् भनेर घरदैलोमा नै भत्ता वितरणको व्यवस्था मिलाइएको वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । “ज्येष्ठ नागरिकलाई दमौलीसम्म पुगेर भत्ता बुझ्न गाह्रो हुने भएकोले घरदैलोबाटै वितरणको व्यवस्था मिलाएका हौ,” उनले भने, “घरदैलोमा नै भत्ता बुझेपछि ज्येष्ठ नागरिक पनि खुशी भएका छन् ।” वडाध्यक्ष श्रेष्ठका अनुसार एकल महिलालाई चौमासिक बापतको रु आठ हजार र ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई रु १२ हजारका दरले भत्ता वितरण गरिएको छ ।

घरदैलोमै भत्ता बुझेपछि व्यास नगरपालिका–५ रानीटारीका पदमपाणी अधिकारीले खुशी व्यक्त गरे । “दमौली पुगेर बैङ्कमा लाइन बसेर भत्ता बुझ्न गाह्रो हुन्थ्यो, वडा कार्यालयले बैङ्कसँग समन्वय गरेर घरदैलोमा नै भत्ता दियो,” उनले भने, “यसले ज्येष्ठ नागरिकलाई एकदमै सजिलो भयो ।” प्रभु बैङ्क दमौली शाखाले व्यास नगरपालिका–३, ४, ५ र १० मा सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मा पाएको छ । शाखाले घरदैलोमा नै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको जनाएको छ ।

यसैगरी महालक्ष्मी विकास बैङ्कले व्यास नगरपालिका–६ शिशाघाटमा भत्ता वापतको रकम वितरण गरेको छ । वडा कार्यालयको सहकार्यमा ५ सय ९२ लाभग्राहीमध्ये ३ सय ४२ जनालाई भत्ता वितरण गरिएको बैङ्कका शाखा प्रमुख सुदीप न्यौपानेले जानकारी दिए । उसले व्यास नगरपालिका–६ र ९ मा भत्ता वितरणको जिम्मा पाएको छ । व्यास नगरपालिका–६ का अध्यक्ष सूर्यभक्त भण्डारीले भत्ता लिनका लागि दमौली जानुपर्ने र लाइन बस्नुपर्ने अवस्था रहेकोले घरदैलोबाटै भत्ता वितरणको व्यवस्था मिलाइएको जानकारी दिए । –रासस

Advertisement