घरमै बसौ सरकारलाई सघाउ

२०७६ चैत २० बिहीवार
NewsDesk ShikharNews

लकडाउनको अवस्थालाई रात दिन घर भित्रबाट नियाली रहेका आम नेपालबासी नेपालीले आजका मितिसम्म कोभिड-१९ अर्थात कोरोना भाइरसँग खासै युद्ध लड्नु परेको छैन । हालसम्म पत्ता लागेका ५ कोरोना भाइरस संक्रमितको अवस्था पनि सामान्य नै रहेको सरकारी खुलासा छ ।

विश्वका शक्तिशाली राष्ट्रहरु हायलकायल भएको यो परिस्थितिमा हाम्रो जस्तो कम्जोर राष्ट्र र हाम्रा धुर्त शासकका अगाडि हामी आफै बलवान् भएर सचेत हुनु नै हाम्रो बुद्धिमता हो । प्रत्येक मानिसको जिन्दगीमा अध्यारो छाई रहेको यो परिस्थितिमा स्वास्थ्यमा सतर्कता अपनाउन हामीले बिर्सनु हुन्न । हामीले भाइरसले क्षति पुर्याएका देशलाई हेरेर आफ्नो देशलाई बुझ्ने उपयुक्त बेला पनि यहि हो । यतिबेला जस्तो सुकै दुःखलाई पनि सहजताका साथ लिएर अघि बढ्ने बेला हो । राज्यसत्तालाई पूर्ण सहयोग गर्ने र सकारात्मक दवाव दिने हरेक हरेक नागरिकको कर्तव्य हो ।

विश्व कोरोना भाइरससँग लडिरहेको बेला सारा विश्वका राजा, राष्ट्रपति, प्रधानमन्त्री दिन रात एक बनाएर आफ्ना जनतालाई कसरी यो भाइरसको संक्रमणबाट जोगाउने भन्ने लडाईमा छन् । हाम्रा प्रधानमन्त्री आफै रोगसँग लडी रहेका छन् । बिरामी प्रधानमन्त्री भएको हाम्रो मुलुकमा यसरी विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणको नामलाई क्यास गर्दै बिरामी जाँच र उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमिततालाई हेर्दा सिनो कुरेर बसेका चील जस्ता शासकले शासन गरिरहेको देश हो नेपाल भन्दा फरक पर्दैन ।

यसरी हेर्दाहेर्दै भाइरसले ग्रस्त बिरामीलाई रुपियाँले काम नगरी रहेको यो समयमा पनि नेपाल सरकार र सरकारका कर्मचारी करोडौँको घोटालामा लागेको देख्दा मानवता गुमाएकाहरुको राज्यमा कोरोनासँग लड्न लकडाउनको सीमा भित्रै बस्नु बाहेक हामीसँग अन्य उपाय छैन ।

यो परिस्थितिमा लकडाउनको अवधि बडाउनु पर्छ । यो अवधिमा जनतालाई राहत दिन सरकारसँग ठोस अवधारणा बनि सक्यो कि सकेन ? भोकाहरु हेरेर मर्नु भन्दा छेरेर मर्नु ठीक भन्दै सडकमा निस्कन बाध्य नहुन् भन्नका लागि भोक मार्ने खाध्य सामाग्रीको जोहो गरि घर घरमा पुर्याउने योजना तत्काल बनाउनु पर्छ । दैनिक ज्यालादारी गर्नेका अभावलाई सरकारले आजै सम्बोधन गर्नुपर्छ । यो समय सन्नाटा छाई रहेको समय हो । यतिबेला सरकारलाई सघाउनु जनताको पनि दायित्व हो । रोगको महामारी फैलन नदिनु नै हाम्रो पहिलो प्राथमिकता भएका कारण यतिबेला धनी गरिब सबै नागरिक सबैका लागि समान हुन । धनी गरिब बीचको खाडललाई यति बेला पुर्नु नै पर्छ नत्र मरिन्छ । मरे पछि के काम करोडको ? चाईना, युरोपका बिरामीका आङ सिरिङग हुने भिडियो हेर्दै लाग्छ त्यति बेला के काम यो भौतिक सुख ।

हामीसँग कोरोना बिरुद्ध लड्ने कुनै पनि सामान तत्काल उपलब्ध हुन सक्ने अवस्था छैन । यसै त हाम्रो सरकार चरम भ्रष्टाचारमा लिप्त छ । जेनतेन उपलब्ध भएका स्वास्थ्य सामाग्रीमा भएको चलखेल र त्यसको गुणस्तर सम्बन्धी कुरा पनि उठी नै रहेका छन् । भएका सामाग्रीलाई राजधानी र बाहिरका सबै जिल्लामा परीक्षण र उपचारका लागि छिटो भन्दा छिटो पठाउन अबेर भइसकेको छ । सीमा पारिबाट भित्रिएकाको डाटा हेरेर सबै प्रकारका बिरामीमा परीइाण हुनु आवश्यक देखिन्छ । त्यसैगरि सीमामा अलपत्र परेका नागरिकलाई छिटोभन्दा छिटो क्वारेन्टाईनको व्यवस्था गरी परीइाण गर्नुपर्ने छ । यदि यी नागरिकलाई बिषेश व्यवस्था गर्न नसके आफ्नै नागरिकमाथि आपतको बेला अन्याय हुनेछ । समस्याहरु दिन प्रति दिन बढ्दै जान्छन् हल खोज्ने हामीसँगको उपाय भने कै तत्काललाई बिदेशबाट नेपाल भित्रिएकाहरुको पहिचान गरि परीक्षण र उपचार गर्ने अरु हामी घरमै बसेर सरकार र समाजलाई सघाउने नै हो ।

विजय तिमिल्सिना