कोरोना भाइरस (कोभिड-१९) र यसबाट बालबालिकामा पर्न सक्ने दुरगामी प्रभाव

२०७७ वैशाख ५ शुक्रवार
NewsDesk ShikharNews

सम्पुर्ण मानब जातीलाई नै धक्का पुग्ने गरी आएको कोरोना भाइरस (कोभिड-१९) ले अहिले सन्सार हल्लाई दिएको छ । परमाणु बमदेखि अत्याधुनिक हातहतियारले शक्तिशाली मुलुकहरु बलिया थिए । तर आँखाले देख्ने भन्दा कैयौ गुणा सानो भाइरसको अगाडि अहिले पुरै विश्व त्राहिमाम भएको छ ।

चिनियाँ नयाँ वर्षदेखि वुहानबाट सुरु भएको यो भाइरसले अब सन्सारको लगभग सबै देशहरुलाई आक्रान्त पारिरहेको छ । यसबाट भइरहेको असरहरु केहीले नाप्न सक्ने अवस्था छैन । संसारको कुनै भूभाग नहोला यो भाइरसबाट प्रताडित नबनेको । भाइरसले न धनीलाई छोडेको छ, न त गरिबलाई नै । बेलायती महारानीदेखि भारतका सुकुम्बासी बस्तीका मानिस समेत कोरोनाको शिकार बनेका छन् ।

स्मिता लामा

यी बाहेक कोरोना भाइरसको एकदमै प्रत्यक्ष असर परेको एउटा वर्ग हो बालबालिका । संयुक्त राष्ट्रसंघको एक रिपोर्ट अनुसार १.५ अर्ब बालबालिका यो भाइरसबाट प्रत्यक्ष प्रभावित बनेका छन् । विद्यालय जान पाएका छैनन् । कतिपयले राम्रोसँग खाने र लगाउने आधारभुत बालअधिकारबाट समेत बञ्चित बनेका छन् ।

उक्त रिपोर्ट अनुसार १८८ राष्ट्रका १.५ अर्ब बालबालिका अहिले विद्याललय जान पाएका छ्रैनन् भने ३७ करोड बालबालिका जसको पोषणको मुख्य श्रोत विद्यालयमा दिइने दिवा खाजा थियो जो अहिले आवश्यक पोषण प्राप्त गर्न प्रत्यक्ष बञ्चित छन् । कोरोना भाइरसकै कारण विश्वमा ८ देखि १३ करोड मानिस उच्च गरिबीतर्फ धकेलिदैछन् जसको आधा हिस्सा बालबालिकाको हुनेछ ।

कोरोनाबाट प्रभावित बालबालिकाहरुको तुलनात्मकरुपमा बालमृत्युदर एकदमै कम छ । वैज्ञानिकहरु अहिले पनि यसको कारण खोज्दैछन् । बालबालिकाको मृत्यु दर लगभग ०.०४५ मात्र छ । न्यूयोर्कमा गरिएको एउटा सर्भे अनुसार त्यहाँको केही समय अगाडि सम्म ०-१७ वर्षको बालबालिकाको मृत्यु लगभग शुन्य नै थियो ।

आजको दिनसम्म संसारमा मर्नेको संख्या डेढ लाख नजिक पुगिसक्दा बालबालिकाको मृत्युको संख्या हजारकै वरिपरि छ । यसरी हेर्दा बालबालिकाको मृत्युको जोखिम कम नै छ । तर उनीहरुमा भाइरसको दुरगामी असर भने धेरै नै देखिन्छन् । बालबालिकामा हुने असरहरु पनि कम नहोला । सरकारले गरेको यति लामो लकडाउन अनि आफ्नो परिवेशमा भइरहेको घटनाहरु देख्दा बालबालिकाहरु मानशिकरुपमा धेरै नकरात्मक असरहरु देखिने स्पष्ट छ । विद्यालय जान नपाएर बालबालिकाको शिक्षामा पनि ठूलो खाडल पर्ने देखिन्छ ।

विद्यालयहरुले घरमै बसेर पढेने व्यवस्थाको कुरा गर्दा पनि यो खासै प्रभावकारी देखिएको छैन । मानशिकरुपमा बालबालिकाहरु कोरोनाको डरले आक्रान्त छन्, तर्सेका छन् । जसले गर्दा उनीहरुको दिमागमा एकखालको डर पैदा भएको छ, जसले उनीहरुको आत्मबल घटेको छ । स्थिति यस्तै रहने हो भने उनीहरुमा डरको दायरा अझै बढेर जाने देखिन्छ ।

बालबालिकाहरु घरमै थुनिदाँ उनीहरुको सामाजिक जीवनमा असर परेको छ । साथीभाईसँग बिताउने समय घटेको छ । जसले गर्दा उनीहरुलाई समय बिताउँन र सृजनशील खेलहरु खेल्ने अवसर मिलिरहेको छैन । इन्टरनेटको एक्सेस भएका परिवारका बालबालिकामा मोबाइलमा झुण्डिने, घण्टौ टीभी हेर्ने लत सुरु भएको छ । यता, श्रमिक तथा मजदुर वर्गका नागरिकका बालबालिकाले राम्रोसँग खान नपाउँदा कुपोषण हुने खतरा बढेर गएको छ । त्यस्तै जतासुकै कोरोना सम्बन्धी समाचार मात्रै सुन्दा बालबालिकामाको मनोविज्ञानमा समेत नकरात्मक प्रभाव पारिरहेको छ ।

यद्यपी यीनै नकरात्मक असरकै बीच पनि बालबालिकाहरुले स्वस्थ बन्ने अभ्यास सिकिरहेका छन् । हात धुने, सामाजिक दुरी कायम राख्ने जस्ता स्वस्थकर बानीको विकास पनि बालबालिकामा भइरहेको छ, यसको प्रभाव भविष्यमा सकरात्मकरुपमा पर्न सक्छ ।

तसर्थ यी सबै कुराहरुलाई विचार गर्दा हामी बालबालिका प्रती उत्तरदायी हुन आवश्यक देखिन्छ । कोरोनाबाट त हामी सबै सुरक्षित हुनु त छ नै हाम्रा बालबालिकाहरुलाई अहिलेको परिवेसबाट सचेत गराउन पनि अत्यन्तै आवश्यक देखिन्छ ।
स्मिता लामा
अध्यक्ष, सी नेपाल