रेडियोमा पहिलोपटक गीत गाउने नेपाली गायिका रानुदेवीको निधन

२०७७ वैशाख १९ शुक्रवार
Newsdesk Shikharnews

रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको मृत्यु भएको छ । ८४ वर्षको उमेरमा उनको गएराति मृत्यु भएको हो ।

रानुदेवीको जन्म सन् १९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा भएको हो। उनका पिता ईश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय (पौडेल) हुन्। उनको बाल्यकाल बनारसमा बित्यो। विवाह २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको हो।

सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम विक्रम सम्बत् २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन। २००७ सालअघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको अगुवाइमा प्रजातन्त्र रेडियो स्थापना भएको थियो।

विराटनगरको जुट मिल्समा २००४ सालमा स्थापना गरिएको उक्त रेडियोमा गाउन रानुदेवीलाई २००६ सालमा दाई तारिणीप्रसादले नै प्रोत्साहन गरेका हुन्।

उनले रेडियो नेपालको स्थापना कालदेखि नै आफ्नो सुरिलो स्वरमार्फत नेपाली नेपाली ‘अघि बढौं हातमा क्रान्ति झण्डा लिई, क्रान्ति झण्डा लिई, नेपाली ‘हे नेपाली आमा बाबु दिदी बहिनी दाजुभाई, सब मिली उद्धार गरौं हाम्रो नेपाललाई,पछि नसरौं अबदेखि दुःख परे पनि, पछि नसरौं अबदेखि दुःख परे पनि लगायतका गीत गाएकी थिइन् ।

इतिहास विषयमा एम ए सम्मको अध्ययन गरेकी रानुदेवी हाल बिराटनगरमा रहदै आएकी थिइन्। उनका एक छोरा र एक छोरी छन् ।