जेठभर लकडाउन हुने, असारबाट नयाँ मोडालिटीको तयारी

२०७७ जेठ १२ सोमवार
Shikhar News Admin

काठमाडौं। कोरोना भाइरसको संक्रमण झन फैलदै गएपछि सरकारले जेठभर लकडाउन गर्ने तयारी गरेको छ। कोरोना भाइरसको जोखिम बढेपछि सरकारले लकडाउन खुकुलो समेत नबनाउने भएको हो।
विश्वस्त स्रोतका अनुसार सरकारले जेठपछि नयाँ मोडालिटीको तयारी समेत गर्न थालेको छ । एकातर्फ कोरोना रोकथाम गर्नुपर्ने र अर्कोतर्फ आर्थिक गतिविधि पनि हुनुपर्ने भएकाले अप्ठ्यारो परिस्थिति बन्दै गएको छ । असारमा कृषि कर्मको चाप हुने हुँदा त्यस अघि नै सरकारले मोडालिटी बनाउने भएको छ ।
समुदाय र वस्तीमा कोरोना महामारी फैलन थालेपछि रोकथामका लागि लकडाउनलाई निरन्तता दिनुपर्ने सुझाव सरकारसम्म पुगेको छ । अर्कोतर्फ, लकडाउन कोरोना भाइरसभन्दा जोखिम बढाउने खालको भएबाट संकट बढ्दै गएको छ । यसबीच सरकारका जिम्मेवार अधिकारीहरु कस्तो कदम चाल्ने भन्नेबारे छलफल गर्न थालेको स्रोतले बतायो ।
यसैबीच, देशमा दिनहुँ ठुलो संख्यामा संक्रमित पत्ता लागेका छन् । आज विहान ७२ जना संक्रमित पत्ता लागेका छन् । जसमध्ये काठमाडौंको बाक्लो वस्ती भएका टोखा र बुढानिलकण्ठमा तीन जना छन् ।
सरकारले काठमाडौं भित्र प्रवेशमा निकै कडाई गरेको छ । तैपनि, मानिसहरु लुकिछिपी आउने जाने गरेपछि सचेतता बढाइएको छ । लकडाउनमा अत्यावश्यक सेवालाई अनुमति दिइएको छ । पासमा भने कडाई गरिएको छ । यो नीतिलाई सरकारले निरन्तरता दिने भएको छ । [image: 91296517_2580196055537067_5646721455421915136_n.jpg]