कोरोनाको आशङ्का गरिएका एकको मृत्यु

२०७७ जेठ १४ बुधवार
Shikhar News Admin

धनगढी। सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसन वार्डमा भर्ना भएका एक व्यक्तिको आज मृत्यु भएको छ ।
गौरीफन्टा सीमानाकाबाट हिजो मङ्गलवार अस्पताल पु¥याइएका कैलालीको गौरीगङ्गा नगरपालिका स्थायी घर ठेगाना भएका ५५ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले बताए।
‘‘उहाँलाई कोरोनाको आशङ्का गरिएका बिरामी बस्न बनाइएको छुट्टै आइसोलेसन वार्डमा राखिएकामा बिहान मृत्यु भएको खबर आएको छ, डा पाण्डेयले भने, “कोरोनाको पोजेटिभ हो÷होइन भन्नेबारेमा यकिन हुन बाँकी छ।” भारतको महाराष्ट्रबाट फर्किँदै गर्दा मङ्गलबार गौरीफन्टा सीमानाकामा बेहोस हुनु भएपछि उनलाई उपचारका लागि अस्पताल पु-याइएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए।
उपचारका क्रममा शुरुमा उनलाई अस्पतालको आकस्मिककक्षमा र केही समयपछि आइसोलेसन वार्डमा भर्ना गरिएको थियो। मृतकको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गर्न लागिएको छ । कोभिड–१९को डेडिकेटेड अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको ‘कोरोना पोजेटिभ’ आइसोलेसन वार्डमा छ जना सङ्क्रमित उपचाररत छन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ। [image: covid-19-russia.jpg]