विवाद समाधानका लागि मन्त्रिपरिषद हेरफेर गर्ने प्रधानमन्त्रीको तयारी

२०७७ असार १७ बुधवार
Shikhar News Admin

काठमाडौं। चौतर्फी घेराबन्दीमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गर्न लागेका छन्। उनले दुई वर्ष अघि नियुक्त भएका मन्त्रीलाई हटाएर प्रचण्ड र माधव नेपाल पक्षधरलाई नेतालाई मन्त्री बनाएर आफूमाथि भइरहेको विरोधलाई कम गर्न लागेको स्रोतले जनाएको छ। मंगलबार बसेको स्थायी कमिटी बैठकमा बोल्ने १८ जना मध्ये १७ जना सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेपछि अप्ठेरो अवस्थामा पुगेका प्रधानमन्त्री ओलीले मंगलबार रातिसम्म आफू निकट मन्त्रीहरुसँग परामर्श गरेका थिए।

उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफू निकट मन्त्रीहरुलाई ‘अब घर सफा गर्नुस्’ भनेर सांकेतिक रुपमा मन्त्री पदबाट हटाउने संकेत गरेका थिए। प्रधानमन्त्री ओलीले आफू निकटलाई राजीनामा गर्न लगाएर प्रचण्ड र माधव नेपाल पक्षधरलाई मन्त्री बनाउँदा विरोध मथ्थर हुने अपेक्षासहित मन्त्रिपरिषद हेरफेर गर्न लागेको स्रोतको दाबी छ। ओली उपप्रधानसहित परराष्ट्रमन्त्री बन्न प्रवक्ता नारायणकाजी श्रेष्ठलाई आग्रह गरेका छन्। तर श्रेष्ठले आफू मन्त्री बन्ने जवाफ पठाएको बताइएको छ।

सकेसम्म मन्त्रिपरिषद हेरफेर गरेर विवाद मिलाउने योजनामा हरेका प्रधानमन्त्री ओली त्यसबाट समस्या समाधान नहुने भए पेलेरै अगाडि बढ्ने रणनीति अख्तियार गर्ने बताइएको छ।
बुधबार आफू निकट स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा पनि प्रधानमन्त्री ओलीले सकेसम्म सबैलाई मिलाएर अगाडि बढ्ने आश्वास दिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।