प्रधानमन्त्रीको उक्साहटमा नलाग्न राष्ट्रपतिलाई दाहालको आग्रह, महाअभियोग अफवाह !

२०७७ असार २१ आइतवार
Newsdesk Shikharnews

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठहरु नेता झलनाथ खनाल र माधव कुमार नेपालले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ राष्ट्रपतिसँगको भेटपछि मन्त्रीहरु र राज्यमन्त्रीहरुलाई बालुवाटार बोलाएर आफूलाई दुवै पदबाट हटाउन र राष्ट्रपतिमाथि महाअभियोग लगाउने षड्यन्त्र भैरहेको भन्दै सहयोग गर्न आग्रह र आफूले कडा कदम चाल्नुपर्ने हुँदा कित्ता स्पष्ट पार्न निर्देशन दिएका थिए ।

यही सेरोफेरोमा नेकपा नेताहरुले आज विहान राष्ट्रपतिलाई भेटेका हुन् । भेटमा नेताहरुले राष्ट्रपतिमाथि महाअभियोग लगाउनेबारे आफूहरुले छलफल नै नगरेको स्पष्ट पारेका थिए । दाहाल निवास खुमलटारमा कानून व्यवसायीहरुसहित नेताहरु छलफलमा बसेको सूचनाका आधारमा प्रधानमन्त्री ओलीले यस्तो आशंका गरेको हुन सक्ने दाहाल नेपाल समूहका नेताहरुको दाबी छ ।

राष्ट्रपतिसँगको भेटमा नेताहरुले दाहाल निवासमा कानूनविदहरुसहितको छलफल भएको स्विकार गरेका छन् । तर, उक्त छलफलमा महाअभियोगबारे कुनै कुरा नभएको उनीहरुको जिकिर थियो । आफूहरुले बरु प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउन सक्नेबारे छलफल गरेको नेताहरुको भनाई थियो । नेताहरुले राष्ट्रपतिलाई प्रधानमन्त्रीको उक्साहटमा नलाग्न आग्रह गरेको पनि दाहाल-नेपाल निकट एक नेताले  जानकारी दिए ।