ओलीको नाम देखाएरै जनतासँग भोट मागिएकाले महाधिवेशन अगाडी दुवै पदबाट राजीनामा दिन मिल्दैनः उपप्रधानमन्त्री पोखरेल

२०७७ असार २९ सोमवार
Newsdesk Shikharnews

काठमाडौं, असार २९ । उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताएका छन्। उनले गएको निर्वाचनमा प्रधानमन्त्रीमा ओलीलाई अगाडी सारेर गएकै कारण पार्टीले दुइतिहाई नजिक मत ल्याएकाले अब आउने निर्वाचन र पार्टीको महाधिवेशनभन्दा अगाडी दुवै पदबाट राजीनामा नदिने तर्क गरेका छन् ।

उनले भने, ‘ओलीको नाम देखाएर नै जनतासँग भोट मागिएको हो । उहाँको अगुवाइमा धेरै काम भएका र जनताले चुनेर पठाएको प्रधानमन्त्रीलाई कसैले छोड भन्नै मिल्दैन । सरकारले गरेका काम सवैलाई जानकारी नै छ । पार्टीको उदेश्य र लक्ष्य अनुसार उहाँ अगाडी बढिरहनु भएको छ ।’

उपप्रधानमन्त्री पोखरेलले ओली नेतृत्वको सरकारले विशेष परिस्थितिमा विशेष खालकै काम गर्न सफल भएको दावीसमेत गरेका छन् । नेकपाको अध्यक्षका नाताले प्रधानमन्त्री भएपछि प्रणालीमै परिवर्तन ल्याउने काम सरकारले गरेको भन्दै उनले पहिलो चरणमा संविधान कार्यान्वयनका लागि धेरै कानूनहरु बनाएको र आर्थिक विकासको फड्को मार्ने समयमा कोरोना आएकाले सरकारलाई अगाडी बढ्न केहि समस्या भएको बताए ।

पार्टीको नीति र उद्धेश्यमा केन्द्रीत भएर नगएसम्म सहमतिमा पुग्न नसकिने उनको भनाई छ । प्रधानमन्त्रीले कुनैपनि नियुक्तिमा एकलौटी नगरेको र केन्द्रीय कमिटीको निर्णय अनुसार नै सवै नियुक्तिहरु भएको उनले दावी गरे । पोखरेलले भने,‘केन्द्रीय कमिटीमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले नै राजनीतिक प्रतिबेदन तयार गर्नुभएको हो । त्यो बैठकले पारित गरेको हो र त्यहि प्रतिवेदन अनुसार सरकारले काम पनि गरिरहेको छ ।’

पोखरेलले अहिले पनि पार्टीको एक नम्बर अध्यक्ष ओली नै भएको र एउटा अध्यक्ष कार्यकारी र अर्को सेरेमोनियल भन्ने नभएको उनको तर्क छ। पार्टी एकिकरणका सिलसिलामा एउटा अध्यक्षले सरकार र अर्को अध्यक्षले पार्टी हेर्ने भन्ने सहमति भएको बताउदै उनले कसैलाई कार्यकारी अध्यक्ष बन्न मन भए महाधिवेशन र प्रधानमन्त्री हुने मन भए आगामी निर्वाचन सम्म कुर्नुपर्ने बताए ।

उनले पार्टीका कुनै पनि कमिटीमा प्रधानमन्त्री ओली अल्पमतमा नभएको दावी पनि गरे । सचिवालयमा ओली अल्पमतमा हुनुहुन्न र संसदीय दलमा ओलीलाई कसैले च्यालेन्ज गर्न नसक्नेभन्दै पोखरेलले ओली विरुद्धमा वा पद छाड्नुपर्छ भनेर अहिलेसम्म औपचारिक प्रस्ताव नआएको उनले जानकारी गराए।

उनले भने,‘केपी ओलीले राजिनामा दिनुपर्ने कारण छैन । नेताहरुको बोल्ने शैली पनि भएन सच्याएर जानुपर्छ । आफुले गरेको गल्ति अरुलाई लगाउन मिल्दैन । तथ्यका आधारमा निर्णय गर्नुपर्छ । कम्जोरी सच्याउन सवै तयार हुनुपर्छ । अहिले पार्टी भित्रको अन्तरविरोध सच्याएर जाने हो । अहिले कुनै पनि नेताले कसैलाई पद छाड भन्न मिल्दैन ।’