विश्वको सबैभन्दा ठूलो तेल कम्पनीमा, साउदी अरामकोको नाफा ७३ प्रतिशत घट्यो

२०७७ साउन २६ सोमवार
Newsdesk Shikharnews

कोरोना महामारीले विश्व अर्थतन्त्र नै प्रभावित बनेको बेला यसको प्रत्यक्ष असर विश्वको सबैभन्दा ठूलो तेल कम्पनी साउदी अरामकोमा पनि परेको छ । सन् २०२० को दोस्रो त्रैमासमा साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरामकोको मुनाफा ७३ प्रतिशतले घटेको छ । कोरोना भाइरसका कारण विश्व बजारमा तेलको माग र मूल्य घटेका कारण अरामकोको विक्रीमा तीव्र गिरावट आएको हो । योसँगै कम्पनीको मुनाफा पनि घटेको हो । साउदी अरामको विश्वको सबैभन्दा ठूलो तेल निर्यातक कम्पनी हो ।

कम्पनीका अनुसार, दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा घटेर २४ अर्ब ६० करोड रियाल अर्थात् ६ अर्ब ५७ करोड डलरमा झरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको मुनाफा ९२ अर्ब ६० करोड रियाल अर्थात् २४ अर्ब ६९ करोड डलर रहेको थियो ।

कोभिड–१९ का कारण तेलको माग र मूल्य घटेका कारण विश्वभरका तेल कम्पनीहरुको अवस्था खराब रहेको छ । व्रिटेनको तेल कम्पनी बीपीले दोस्रो त्रैमासमा ६ अर्ब ७० करोड डलर नोक्सान बेहोर्नुपरेसँगै कम्पनीले पहिलोपटक लाभांशमा कटौती गर्ने घोषणा गरेको छ ।