भाटभटेनी सुपरमार्केटका स्टोरमा खसीको मासु अन्यन्त्रभन्दा ४५० रुपैयाँ सस्तो

२०७७ भदौ १२ शुक्रवार
Newsdesk Shikharnews

अहिले काठमाडौँमा खसीको मूल्य प्रतिकेजी १३ सय रुपैयाँ रहेको छ । महंगो मूल्यकै कारण सर्वसाधारणले खसीको मासु खान सोच्नुपर्ने अवस्था छ । तर यसै बीच खसीको मासुका पारखीलाई खुशी पार्ने खबर भाटभटेनी सुपरमार्केटको तर्फबाट आएको छ । भाटभटेनीले अहिले बजारमा चलेको मूल्यभन्दा ४ सय ५० रुपैयाँ कम अर्थात ८ सय ५० रुपैयाँमा खसीको बेच्न थालेको छ । विचौलियाका कारण खसीको मूल्य आकाशिएको बताउँदै भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले आफुहरुले नेपालगञ्ज र भैरहवाबाट सिधै खसी ल्याएर सस्तोमा बेच्न थालेको बताए । नेपालगञ्जमा ७ सय रुपैयाँमा पाइने खसीमा थोरै मार्जिन राखेर भाटभटेनीमार्फत् सस्तोमा बेचिरहेको गुरुङको भनाई छ । भाटभटेनीले चिनी, आलु, गोलभेडा लगायतका खाद्यान्न पनि बाहिरबाट सस्तोमा ल्याई ग्राहकलाई कम मूनाफा राखेर बेचिरहेको बताए ।

काठमाडौँमा बिचौलियाले गर्दा खसीको मासु महंगो भएको उनले आरोप लगाए । बिचौलियाले सिण्डिकेट गरी बढि नाफा खाएर मासु पसलेलाई खसी बेच्ने गरेकाले बजारमा खसीको मासु १३ सय रुपैयाँ पुगेको उनको भनाई छ । थोरै मार्जिन राख्दा आफुहरुले नेपालगञ्जबाट ल्याउँदा पनि यति सस्तोमा बेच्न सकेको उनले बताए । भाटभटेनीका सबै स्टोरबाट ८ सय ५० रुपैयाँमा खसीको मासु बिक्रि भइरहेको छ ।

भाटभटेनी सुपरमार्केटले उपत्यकाका ११ वटै स्टोरबाट ८ सय ५० रुपैयाँमा खसीको मासु बेच्न थालेपछि बिचौलियाहरु भने आत्तिएका छन् । उपत्यकाको ११ स्थानमा रहेका भाटभटेनीका स्टोरहरुले यहाँको ठूलो संख्याको माग धान्ने क्षमता राख्दछ । बजारमा पाइनेभन्दा ४ सय ५० रुपैयाँ नै सस्तामा पाइने भएपछि उपत्यकाबासी खसीको मासु किन्न पक्कै पनि भाटभटेनी नै जान्छन् । सस्तोमा मासु पाइने भएपछि ग्राहकको भीड भाटभटेनीमा लाग्न थालेपछि बाध्य भएर विचौलियाले खाइपाई आएको अनावश्यक बढी मार्जिन घटाउन बाध्य हुने छन् । र, यसको सोझो फाइदा उपत्यकाबासीले लिनेमा कुनै शन्देह छैन ।