मन्त्रीहरुको सेट नै परिवर्तन गर्ने प्रधानमन्त्री ओलीको तयारी !

२०७७ असोज ८ बिहीवार
Newsdesk Shikharnews

काठमाडौं, ८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पूनर्गठन गर्दा पूरै सेट नै परिवर्तन गर्ने तयारी गरेका छन् । कसैलाई हटाउने र कसैलाई निरन्तरता दिनेभन्दापनि पहिले सबैलाई हटाउने र पछि मन्त्रिमण्डल विस्तार गर्दा अहिले भएका केही मन्त्रीहरुलाई पूनः ल्याउने प्रधानमन्त्री ओलीको तयारी छ ।

दशैंअघि नै मन्त्रिमण्डल पूनर्गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी छ । यसअघि पेरिसडाँडामा बसेको नेकपा सचिवालय बैठकमा मन्त्रिमण्डल पूनर्गठनबारे छलफल भएको थियो । उक्त बैठकमा बोल्ने सचिवालय सदस्यहरुले दशैंअघि नै मन्त्रिमण्डल पूनर्गठन गर्न सुझाव दिएका थिए । मन्त्रिमण्डल पूनर्गठनको लागि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफलपनि भैरहेको छ । आजमात्रै अध्यक्षद्धयबीच मन्त्रिमण्डल पूनर्गठन र पार्टी एकताका बाँकी कार्यभार पूरा गर्नेबारे छलफल भएको थियो । नेकपानिकट स्रोतले जनाएअनुसार मन्त्रिमण्डल पूनर्गठन गर्दा प्रधानमन्त्री ओलीले अहिलेका सबै मन्त्रीहरुलाई हटाउने तयारी गरेका छन् ।

बामदेवको राजनीतिक भविष्यमाथि धक्का

नेकपाभित्र यतिवेला मन्त्रिमण्डल पूनर्गठनको मापदण्ड कस्तो बनाउने भन्नेबारे छलफल चलिरहेको छ । कतिपयले दुई वर्ष पूरा गरेकाहरुलाई विदाई गरेर नयाँ ल्याउनुपर्ने धारणा राखेका छन् भने कतिपयले कार्यसम्पादन राम्रा भएकाहरुलाई दोहोर्याउनुपर्नेमा जोड दिएका छन् । वरिष्ठ नेता झलनाथ खनालले पनि यसपटक मन्त्रिमण्डल पूनर्गठन गर्दा ठूलो मात्रामा गरिने स्पष्ट पारिसकेका छन् ।

ओली–दाहालबीच भेटवार्ता, मन्त्रिमण्डल पूनर्गठनदेखि पार्टी एकताका कामबारे छलफल

पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता खनालले दशैंअघि नै मन्त्रिमण्डल पूनर्गठन हुने जनाईसकेका छन् । खनाललगायत वरिष्ठ नेता माधव कुमार नेपाल, उपाध्यक्ष तथा राष्ट्रियसभा सदस्य वामदेव गौतम, प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ पनि कार्यसम्पादन राम्रा भएकाहरुलाई निरन्तरता दिनुपर्नेमा छन् ।