ओलीद्वारा प्रचण्डलाई दौडाएको दौडायै

२०७७ असोज २७ मंगलवार
Newsdesk Shikharnews

काठमाडौं, २७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक चार्तुयता देखाएर नेपाल कम्युनिस्ट पार्टीभित्रको घेराबन्दीलाई दुईपटक तोडेका छन् । उनले आश र त्रास देखाएर विरोधीलाई अप्ठ्यारोमा पार्ने गरेका छन् । उनको अर्को खूबीः भेट्न आउनेलाई कुराउने र धाएको धायै बनाउने ।

पछिल्लो समय ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा दैनिकजसो धाउनुपर्ने बनाएका छन् । अनेकन चाल चलेर उनले प्रचण्डलाई बारम्बार बालुवाटार धाउने बनाएका हुन् । पछिल्लो पटक कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध ओली पक्षले अविश्वासको प्रस्ताव दर्ता गरेको छ । त्यसलाई मिलाउन प्रचण्ड सोमबार बालुवाटार पुगे । तर, कुरा मिल्न सकेन ।

मन्त्रिमण्डल पुर्नगठनको बारे टुंगो लगाउन प्रचण्ड बालुवाटार निकै पटक दौडिसके । कहिले मापदण्ड मिल्दैन त कहिले नाम । विश्वस्त स्रोतका अनुसार प्रचण्डले दिएको नामको स्रूचीमा ओलीको असन्तुष्टि हुनेगरेको छ । गोजीको नाम झिकेर दिनेवित्तिकै केही नामप्रति आपत्ति जनाउँछन् । यसरी मन्त्रिमण्डल पुर्नगठनका लागि प्रचण्ड बालुवाटार दौडन थालेको एक महिना हुनलागिसकेको छ ।

संवैधानिक अङ्गको नियुक्तिमा पनि प्रचण्ड पटक पटक बालुवाटार पुगे । तर, ओली अख्तियारमा आफ्नै मान्छे छानेर राख्न चाहन्छन् । यसले पनि कुरा मिल्न सकेको छैन ।

ओलीलाई राम्ररी बुझेका माधवकुमार नेपाल भने बालुवाटार सायदै पुग्छन् । झलनाथ खनाल पनि कमैमात्र पुग्छन् । वामदेव गौतम पनि दौडिहाल्दैनन् । ओलीसँग लामो राजनीतिक संगत नगरेकाले प्रचण्डले स्वभाव अझै बुझेका छैनन् । यसकारण पनि उनी निरन्तर दौडिइरहेका छन् ।-फाइल तस्वीर