पौडेलले काँग्रेस सभापतिको दाबी नछाड्ने, देउवाविरुद्ध आक्रामक रणनीति बनाउँदै

२०७७ कात्तिक ५ बुधवार
Newsdesk Shikharnews

नेपाली काँग्रेसको आगामी महाधिवेशन सर्ने निश्चितप्रायः भएको छ । यसै वर्षभित्र सम्पन्न गर्नुपर्ने महाधिवेशन सर्ने छाँट देखिएपनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले कुनै हालतमा महाधिवेशन तोकिएको मितिमा सम्पन्न गर्नुपर्ने जोड दिदै आएको छ ।

पौडेलले अब महाधिवेशन समयमै गर्न देउवामाथि दबाब बढाउन थालेका छन् । उनले केही लचकता देखाउन सक्ने तर आउँदो वैशाखभन्दा पर जाने गरी मान्न नसकिने स्पष्ट पारिसकेको बुझिएको छ ।

पौडेल देउवाविरुद्ध सभापतिका लागि प्रतिष्पर्धा गर्ने तयारीमा छन् । उनको समूहभित्र अन्य नेताहरुले पनि सभापतिका लागि तयारी गरिरहेका छन् । तर, पौडेल उम्मेदवारीबाट पछि नहट्ने गरी तयार भएको बुझिएको छ ।

विश्वस्त स्रोतका अनुसार पौडेलले निकटस्थसँग आफू पार्टी हाँक्ने तयारीमा रहेको समेत बताएका छन् । उनले पछिल्लो पुस्तालाई एक कार्यकाल पर्खन समेत आग्रह गरेको बुझिएको छ ।

पौडेल समुहमा महामन्त्री डा. सशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला, सुजाता कोइरालालगायत सभापतिको दाबेदार देखिएका छन् । उनीहरु सबै आफ्नो तयारीमा जुटेका छन् ।