ओलीले ‘प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पद रोज्नुपर्ने’ परिस्थिति बनाइँदै

२०७७ मंसिर ४ बिहीवार
Newsdesk Shikharnews

नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक १३ मंसिरमा बस्ने सहमति भएको छ । हिजो अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि उठाइएका प्रश्नसहितको प्रस्तावमाथि लिखित जवाफ दिन दश दिन समय मागेपछि उक्त सहमति भएको छ । तर, यसबीच ओली र उनीइतर पक्षले शक्ति सञ्चयको अभ्यास गर्ने संकेत मिलिसकेको छ ।

ओलीलाई यसपटक सत्ता संकट टार्न निकै मुश्किल छ । उनीविरुद्ध सचिवालयका बहुमत सदस्य एकजुट छन् । विगतमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसमेतको मोर्चालाई टुटाउन ओली सफल भएका थिए । यसपटक भने उनलाई हम्मे परेको छ । ओली तैपनि निराश भएका छैनन् ।

ओलीले यसपटक सत्ता संकट टार्न कि न विरोधी मोर्चालाई सहमतिमा ल्याउनुपर्छ कि त फुटाउन सक्नुपर्छ । यो दुवै सहज हुने सम्भावना कमजोर हुँदै गएको छ ।
बरु ओलीविरोधी समूहले अध्यक्ष या प्रधानमन्त्रीमध्ये एक पद छाड्न ओलीलाई प्रस्ताव गर्ने तयारी गरेको छ । उनलाई पार्टी कमिटीबाटै यस्तो प्रस्ताव गर्ने तयारी भएको बुझिएको छ । ओलीले कि त अध्यक्ष कि त प्रधानमन्त्री पद रोज्नुपर्ने हुन्छ ।

विश्वस्त स्रोतका अनुसार नेकपाभित्रको मध्यमार्गी धारले ओलीलाई दुई मध्ये एक पद रोज्न प्रस्ताव गरेर सहमति बनाउने प्रयास गरेको छ । दश दिनपछि सचिवालय बस्ने र त्यसपछि केन्द्रीय कमिटी बस्नेछ । उक्त बैठक नसरेमा फेरि टकराव बढेर वार पारको अवस्था आउन सक्छ ।

ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद पाउँदा एकलौटी ढंगले सरकार र पार्टी चलाउन खोजेको नेकपाभित्रका प्रचण्ड र माधव नेपाल पक्षहरुबाट विश्लेषणहरु भइरहेको छ । त्यसैले कम्तिमा एक पद छोडाएर निकास निकाल्न पूर्व एमालेका एकाथरी नेताहरु लागेका छन् ।