गुट उपगुटमा लाग्नेलाई वामदेवले झड्का दिएकै हो त ?

२०७७ पुस ४ शनिवार
Newsdesk Shikharnews

जब सत्तारूढ दल नेकपा अत्यन्तै संकटपूर्ण अवस्थामा पुग्छ, त्यतिबेला नेकपाका वरिष्ठ उपाध्यक्ष वामदेव गौतम सबैभन्दा बढी चिन्तित हुँदै पार्टीलाई फुटबाट जोगाउने गरी महत्वपूर्ण भूमिकामा देखा पर्छन् । शुक्रबार वरिष्ठ उपाध्यक्ष गौतमले यस्तै भूमिका खेलेर गुट उपगुटमा लाग्नेहरूलाई ठूलो झड्का दिएका छन् ।

शुक्रबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पेरिसडाँडामा आयोजना गरेको गुटगत बैठकलाई उपाध्यक्ष गौतमले बहिष्कार गरेर आफू कुनै पनि गुटको भेलामा नजाने महत्वपूर्ण सन्देश दिएका छन् । वामदेवले गुटगत भेला बहिष्कार गरी पार्टी एकता जोगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास आम कार्यकर्ताले समेत गरेका छन् ।

गौतमले ओली तथा दाहाल–नेपाल दुवै समूहले गर्दै आएको गुटगत भेला पूर्ण रूपमा रोकिनुपर्ने अडान राख्दै आइरहेका छन् . गौतमले आफू कुनै पनि गुट भेलामा नजाने तर पार्टीका बैठक भने नछोड्ने स्पष्ट पारेका छन् । स्रोतका अनुसार पेरिसडाँडामा भएको गुटगत भेलामा अध्यक्ष दाहाल तथा वरिष्ठ नेता नेपाललगायतका नेताले गौतमलाई आउन बारम्बार आग्रह गरेका थिए । गौतमले पार्टीको बैठकमा आफू आउने तर कुनै प्रकारको गुटगत भेलामा जान नसक्ने भन्दै भेला बहिष्कार गरिदिएका थिए ।

शुक्रबार पेरिसडाँडामा भएको भेलामा नगएका उपाध्यक्ष गौतमले अहिलेको यो संकटपूर्ण अवस्थामा भेला गर्ने समय नभएर बैठकबाटै आवश्यक निष्कर्ष निकाल्दै एकताको सन्देश दिनुपर्ने बताएका छन् । ‘अहिले कसैले पनि गुटगत भेला गर्दै हिँड्ने बेला होइन । बैठकबाटै सबै समस्याको समाधान खोज्नुपर्छ,’ गौतमले भने ।

यसअघि पनि गौतमले पार्टी फुटकै अवस्थामा जानै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई महाधिवेशनअघि प्रधानमन्त्री र अध्यक्षबाट हटाउन नहुने र अर्का अध्यक्ष दाहाललाई पूर्ण कार्यकारी अध्यक्षको भूमिका दिने गरी संकट व्यवस्थापनको खाका ल्याएका थिए । राजधानी दैनिकबाट