स्वास्थ्य सतर्कता अपनाउँदै पोखरा सडक महोत्सवलाई निरन्तरता दिइने

२०७७ पुस १३ सोमवार
Newsdesk Shikharnews

रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान)पोखराले यो वर्ष पनि सडक महोत्सवलाई निरन्तरता दिने भएको छ । पोखरामा २२ औं सडक महोत्सवको तयारी गरिरहेको जानकारी रेवानले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । स्वास्थ्य सुरक्षा मापदण्डलाई बिशेष ध्यान दिएर ३ दिन महोत्सव गरिने २२ औं पोखरा सडक महोत्सवको स्वास्थ्य संयोजक भिष्म राज पौडेलले बताए । महोत्सवमा आउने पर्यटकलाई स्वास्थ्य सुरक्षा सर्तकता अपनाउन उनले आग्रह गरेका छन् । कोरोनाको लक्षण देखिएका जेष्ठ नागरिक तथा दिर्घरोगीलाई घरमा नै बस्न उनको आग्रह छ ।

महोत्सव पुषको १५, १६ र १७ गते संचालन हुनेछ । विगत ९ महिनादेखि ठप्प रहेको व्यवसायलाई महोत्सवले चलायमान बनाउने विश्वास गरिएको छ । अङग्रेजी नयाँ बर्षको गन्तव्यस्थलका रुपमा प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए । सुस्ताएको पर्यटनलाई केही हद भएसम्म पनि महोत्सवले गतिशील बनाउने पर्यटन व्यवसायीको आशा छ ।