सन्त नेता कृष्णप्रसाद भट्टराईको नाममा म्याराथुन हुँदै

२०७७ फागुन १३ बिहीवार
Newsdesk Shikharnews

नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशले आउदो चैत्र २२ गते शनिवार नेपाली काङ्ग्रेसका सभापती एबम सन्त नेता तथा पूर्व प्रधानमन्त्री स्वर्गिय कृष्ण प्रसाद भट्टराई (किसुनजी) को नाममा महिला तथा पुरुष हाफ म्याराथुन प्रतियोगिता आयोजना गर्ने भएको छ ।लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशका अध्यक्ष दीपक गुरुङले आज बुधबार एक पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिए ।

नेपाली राजनीति र नेपाली खेलकुदको क्षेत्रमा किसुनजीको योगदानलाई स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको गुरुङले बताए । भट्टराई प्रधानमन्त्री हुँदा नेपालले काठमाडौंमा आठौं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गरेको थियो । त्यति बेला नेपाल पहिलो पटक पदक तालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो ।

प्रतियोगितालाई भविष्यमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा रुपान्तरित गर्दै लैजाने लक्ष्य रहेको बताए । संघले नयाँ खेलाडी उत्पादन, खेलकुदको व्यसायिकरण र सन्यासपछिको सहज जीवनका लागि आउने दिनमा सम्बन्धित निकायमा पहल गर्ने पनि गुरुङले बताए ।

म्याराथुनका महिला र पुरुषत तर्फका दुवै विजेताले उपाधिसहित २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार तथा चौथो र पाँचौंले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । संघको प्रचारका लागि पनि तत्काल हाफ म्याराथनको आयोजना गरिएको जनाउँदै अध्यक्ष गुरुङले भविष्यमा अन्य प्रतियोगिता पनि आयोजना गरि खेलकुद तथा खेलाडीको विकासमा मेरुदण्डको भुमिका निर्भाह गर्ने बताए ।

म्याराथुन काठमाण्डौ क्षेत्र नं. ४ गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु हुँदै धुम्बाराही चोक, चावहिल, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, जयनेपाल हल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, बुढानिलकण्ठ प्रहरी बिट हुँदै पुनः सोहि स्थानमा पुगेर टुंगिने तय भएको जानकारी दिइयो ।

नेपाल एथलेटिक्स संघका सचिव एवंम प्रतियोगिताका निर्देशक आरके विष्टले हाफ म्याराथुन कमै आयोजना भइरहेको सन्दर्भमा यसरी प्रतियोगिता आयोजना हुनु सुखद भएको बताए । अध्यक्ष गुरुङले प्रतियोगितामा ८०/८५ खेलाडीको सहभागिता रहने अनुमान गरिएको बताए ।