नेकपाको कानुनी विभाजन रोक्न दोस्रो तहका नेताहरु सक्रिय, पोखरेल र भुषालबीच भेटवार्ता

२०७७ फागुन २० बिहीवार
Newsdesk Shikharnews

नेपाल कम्युनिस्ट पार्टीको कानुनी विभाजन रोक्न दोस्रो पुस्ताका नेताहरु सक्रिय भएका छन् । प्रधानमन्त्री केपी शर्मा शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समूहका दोस्रो पुस्ताका नेताहरु कानुनी विभाजन रोक्ने अन्तिम प्रयासमा सक्रिय भएका हुन् ।

आज ओलीका विश्वासपात्र मानिने स्थायी कमिटी सदस्य शंकर पोखरेल र प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य घनश्याम भुषालबीच भेटवार्ता भएको छ । दुवैले पार्टीको कानुनी विभाजन रोक्ने मिलनबिन्दुबारे छलफल गरेका थिए ।

दोस्रो पुस्ताका यी दुई नेताहरु विगतमा पनि विभाजन रोक्न सक्रिय भएका थिए । आज दुवैबीच एकताको सूत्रबारे गम्भीर छलफल भएको थियो ।

यसैगरी, नेकपा एक बनाउन उपाध्यक्ष वामदेव गौतम पनि सक्रिय छन् । उनले कुनैपनि समूहमा नलाग्ने भन्दै एकताको प्रयास जारी राखेका छन् । गौतम केही सांसदहरुलाई साथमा लिएर शक्ति विस्तारमा लागेका छन् ।