एमालेको बैठक छिटो बोलाउँछु : प्रधानमन्त्री

२०७७ फागुन २४ सोमवार
Shikhar News Admin

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवादमा आइतबार सर्वोच्च अदालतले गरेको फैसलापछि प्रधानमन्त्री तथा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब साबिक एमालेको बैठक बोलाउने बताएका छन् । सर्वोच्चको फैसलालगत्तै बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलाअनुसार छिटै एमालेको बैठक बोलाइने जानकारी दिएका हुन् । बैठकमा प्रधानमन्त्री ओलीले आवश्यक परेमा आफूले विश्वासको मतसमेत लिएर देखाउने बताए ।केही दिनभित्रै एमाले दलको बैठक बसेर नया राजनीतिक कोर्सबारे उपयुक्त निर्णय लिइने ओलीले स्पष्ट पारे ।

सर्वोच्चको फैसलापश्चात् प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओलीले अदालतको फैसला आफूहरूले मान्ने र कार्यान्वयन गर्ने प्रतिक्रिया दिएका छन् । अदालतको फैसलापश्चात् नेकपा ओली समूह खुसी देखिन्छ । तर, नेकपा दाहाल–नेपाल समूह अदालतको फैसलाले असन्तुष्ट देखिएको छ । नेकपा ओली समूहका स्थायी कमिटीका सदस्यसमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाले पार्टीहरूलाई पूर्ववत् अवस्थामा पु¥याएको बताएका छन् । फैसलाले वास्तविक अर्थमा वैज्ञानिक, वस्तुनिष्ठ र सही आधारमा पार्टी एकताका लागि ढोका खुलेको प्रतिक्रिया ज्ञवालीले दिएका छन् ।

नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य देव गुरुङले सर्वोच्च अदालतको फैसलाले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई ब्युत्याएर यथास्थानमा गयो भन्न नमिल्ने तर्क गरेका छन् ।
यता नेकपा दाहाल–नेपाल समूहले सोमबार पछिल्लो राजनीतिबारे थप रणनीति बनाउन सोमबार स्थायी कमिटीको बैठक बोलाएको छ । सिंहदरबारमा दाहाल र नेपालले कानुन व्यवसायीसँग छलफल गर्दै अगामी रणनीतिबारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ।