पौडेलको प्रस्तावमा ठाकुरको जवाफः अहिले ओलीजीसँगै संवाद चलिरहेछ

२०७७ चैत २२ आइतवार
Newsdesk Shikharnews

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज विहान जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको हात्तिवनस्थित निवासमा पुगे । ठाकुरको मनशाय बुझ्न र नयाँ सरकारका लागि समिकरण बनाउन पहलका लागि पौडेल त्यहाँ पुगेका थिए ।

काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने निर्णय गरिसकेको र सत्ता समिकरणका लागि जसपाले उठाएको मुद्दा सम्बोधन गर्नेबारे पौडेलले कुराकानी गरेका थिए । मधेशको माग ओलीले सम्बोधन नगर्ने र त्यसबारे काँग्रेस सभापति शेरबहादुर देउवासँग बसेर कुरा गर्न पौडेलले सुझाव दिएका थिए । विश्वस्त स्रोतका अनुसार पौडेलले आफू पनि बसेर देउवासँग त्यसबारे छलफल गर्ने प्रस्ताव राखेका थिए ।

जवाफमा ठाकुरले आफूहरुको मुद्दाबारे ओलीसँगै कुराकानी भइरहेको जवाफ दिएका थिए । काँग्रेस र माओवादी केन्द्रसहितको जसपाको समिकरण बनाउनेबारे ठाकुरको सकारात्मक जवाफ नआएको बुझिएको छ ।जसपा अध्यक्ष ठाकुरले ओलीसँगै निकटता बढाएको संकेतहरु भेटमा समेत गरेका थिए । उनको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘अहिले ओलीजीसँगै संवाद चलिरहेछ ।’ ठाकुरले आफूहरु मुद्दामा केन्द्रित भएको स्पष्ट पारेका थिए ।