नेदरल्याण्डलाई १४२ रनले हराउँदे नेपालले जित्यो त्रिदिवशीय टी-२० सिरिजको उपाधि

२०७८ वैशाख ११ शनिवार
Newsdesk Shikharnews

त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डसलाई १४२ रनले हराउँदै उपाधि जितेको हो । नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनायो । दुई सय ३९ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले १७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्र बनायो । नेपालले आज विपक्षी टोलीलाई टी–२० क्रिकेटमा कीर्तिमानी लक्ष्य दिएको थियो । यसअघि टी–२० क्रिकेटमा नेपालले १३औँ सागमा भूटानलाई २३६ रनको लक्ष्य दिएको थियो ।

नेदरल्याण्डसविरुद्धको खेलमा अरु खेलमा जस्तै कुशल भुर्तेलले अद्र्धशतक प्रहार गरेका थिए । सिरिजमा उनले चौथो अद्र्धशतक प्रहार गरे । एउटै सिरिजमा चौथो अद्र्धशतक बनाउने उनी पहिलो खेलाडी बनेका छन् । भुर्तेलले ७७ रन बनाए । उनले ५३ बल खेल्ने क्रममा तीन छक्का र आठ चौका हाने । यस्तै आशिफ शेखले १६ र कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिए । कुशल मल्लले अद्र्धशतक प्रहार गरे । उनले २४ बलमा अविजित ५० रन बनाए । सो क्रममा मल्लले पाँच छक्का र दुई चौका हाने । यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४८ रन बनाए । उनले १८ बल खेल्दै तीन छक्का र पाँच चौका प्रहार गरे । बलिङतर्फ नेदरल्याण्डसका लागि फिलिपे वोइसेविनले दुई तथा सेवास्टियन ब्राटले एक विकेट लिए ।

विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डसले शुरुआतदेखि नै विकेट गुमाउँदै गयो । नेदरल्याण्डसले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको थियो । उसले आठ ओभरमा छ विकेट गुमाउँदै ४३ रन बनाएको थियो । नेदरल्याण्डसका लागि म्याक्स ओडाउडले २० रन बनाए । यस्तै कप्तान पिटस शेलारले १३ रन बनाए । अन्तिम समयसम्म सेवास्टियन ब्राटले आफ्नो टोलीलाई साथ दिए । उनले अविजित २६ रनको योगदान दिए । अन्य खेलाडीले भने रन बनाउन सकेनन् । नेदरल्याण्डसका दुई खेलाडी रनआउट भए ।

बलिङतर्फ नेपालका करण केसीले तीन, कमलसिंह ऐरी र सन्दीप लामिछानेले दुई–दुई तथा अविनाश बोहराले एक विकेट लिए । लामिछानेले आज पनि उत्कृष्ट बलिङ गरे । उनले चार ओभरमा २६ रन खर्चिँदै दुई विकेट लिए । लामिछाने सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । उनले पाँच खेलमा १३ विकेट लिए ।