लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

२०७८ वैशाख १९ आइतवार
Shikhar News Admin

काठमाडाैं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट राजीनामा दिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ताका अनुसार प्रदेश प्रमुखले पोखरेलले दिएको राजीनामा स्वीकृत गरेका छन्।
“माननीय प्रदेश प्रमुख धर्मानन्द यादवज्यूसमक्ष लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालको संविधानको धारा १६९(१)(क) अनुसार मुख्यमन्त्री पदबाट दिनुभएको राजीनामा आज मिति २०७८ साल वैशाख १९ गतेका दिन माननीय प्रदेश प्रमुखज्यूले स्वीकृत गर्नुभएको छ,” प्रवक्ता चिरञ्जिवी पौडेलद्वारा जारी वक्तव्यमा भनिएको छ।
पोखरेलविरुद्ध प्रदेशसभामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव प्रस्तुत गरेका थिए।
उनी नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री निर्वाचित भएका थिए।
नेपाल सङ्घीय संरचनामा गएर प्रदेश सरकार गठन भएपछि पदबाट राजीनामा दिने पोखरेल प्रथम मुख्यमन्त्री हुन्।
प्रदेश प्रमुखको कार्यालयका अनुसार संविधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि अहिलेकै मन्त्रिपरिषद्लाई कार्यभार सञ्चालन गर्न तोकिएको छ। अब पोखरेलको नेतृत्वको सरकारको ‘कामचलाउ’ बनेको छ।
केसीका अनुसार पोखरेलले लुम्बिनी प्रदेशका प्रमुखलाई आइतवार बिहान आफ्नो राजीनामा बुझाएका हुन्।
पोखरेल नेकपा एमालेका केन्द्रीय नेता पनि हुन्। उनलाई प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छ।
प्रदेशमा नयाँ सरकार गठन गर्न सजिलो होस् भन्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको उनका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए।
केसीका अनुसार मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार नयाँ सरकार बनाउने बाटो खोल्नका लागि राजीनामा दिएका हुन्।
उक्त उपधारामा प्रदेशसभामा बहुमतप्राप्त दलको नेता मुख्यमन्त्री बन्ने व्यवस्था छ।
अहिले पोखरेल संविधानको धारा १६८ को उपधारा २ बमोजिम संयुक्त सरकारको नेतृत्वमा रहेकाले अब एकल सरकार बनाउने बाटो खोल्न उनले यो कदम चालेको केसीले बताए।[image: _118294936_shankarpokharel-2.jpg]