प्रतिवेदन भन्छ, ‘महामारीप्रति डब्ल्यूएचओ र विश्वव्यापी प्रतिक्रियामा गम्भीर त्रुटि

२०७८ वैशाख ३१ शुक्रवार
Shikhar News Admin

बीबीसी। छानबिनकर्ताहरूको एउटा स्वतन्त्र समूहले कोभिड-१९ महामारी बेलैमा रोक्न सकिन्थ्यो भन्ने निष्कर्ष निकालेको छ। विश्व स्वास्थ्य सङ्गठनले गठन गरेको उक्त छानविन समूहले भनेको छः डब्ल्यूएचओ र संसारभरिका सरकारहरूले जसरी संयुक्त प्रतिक्रिया जनाए त्यो “दूषित सम्मिश्रण” को रूपमा रह्यो।
रिपोर्टमा डब्ल्यूएचओले उसले घोषणा गरेकोभन्दा निकै पहिले नै विश्वव्यापी महामारीको घोषणा गर्नुपर्ने थियो भनिएको छ। अब पनि आवश्यक परिवर्तनहरू नगरिएमा संसार फेरि अर्को ठूलो महामारीको जोखिममा पर्न सक्ने पनि बताइएको छ।
कोभिडका कारण संसारभरि हालसम्म ३३ लाख जनाभन्दा बढीको ज्यान गइसकेको छ। अमेरिका र युरोपमा सरकारहरूले प्रतिबन्धहरू केही खुकुलो पार्दै लग्न थालेका छन् भने उक्त भाइरसले एशियाको ठूलो हिस्सामा विनाशकारी प्रभाव देखाइरहेको छ।
विशेषगरी भारतमा अभूतपूर्व सङ्ख्यामा नयाँ सङ्क्रमण र कोभिडका कारण मृतकसको सङ्ख्या बढिरहेको छ। अनि देशभरिका अस्पतालमा अक्सिजनको अभाव देखिएको छ।
त्यसैगरी भारतको छिमेकी नेपालमा पनि चर्को सङ्क्रमण फैलिएको उक्त भाइरसले यसअघि कहिल्यै नदेखिएको जस्तो क्षति र विपद्को अवस्था ल्याइदिएको छ।
‘कोभिड-१९: मेक इट द लास्ट प्यान्डेमिक’ अर्थात् कोभिड-१९ लाई अन्तिम विश्वव्यापी महामारी बनाऊ भन्ने शीर्षकको उक्त प्रतिवेदन प्यान्डेमिक प्रीपेअर्ड्नेस एन्ड रेस्पोन्स नामक निकायका लागि एउटा स्वतन्त्र समूहले तयार पारेको हो।
कोरोनाभाइरसले कसरी ३३ लाखभन्दा बढी मानिसको ज्यान लियो र १५ करोड ९० लाख मानिसमा यसको सङ्क्रमण सर्न पुग्यो भन्ने प्रश्नको उत्तर खोज्नु उक्त प्रतिवेदनको उद्देश्य थियो।
उक्त समूहकी सहअध्यक्ष तथा लाइबेरियाकी भूतपूर्व राष्ट्रपति एलेन जोनसन सर्लिफले पत्रकारहरूसँग कुरा गर्दै भनिन्, “अहिले हामी जुन अवस्थामा छौँ त्यसो हुनबाट निकै पहिले नै जोगाउन सकिन्थ्यो।”
“अहिले जे भइरहेको छ त्यो उपयुक्त तयारी र उचित प्रतिक्रिया जनाउनमा भएका अनगिन्ती असफलता, त्रुटि र ढिलाइको परिणाम हो।”
उक्त स्वतन्त्र समूहले भनेको छ डब्ल्यूएचओको इमर्जेन्सी कमिटीले चीनमा महामारी देखिनेबित्तिकै त्यसबेला गरिएभन्दा एक हप्ताअघि नै अन्तर्राष्ट्रिय महामारीको अवस्थाको घोषणा गर्नुपर्ने थियो।
प्रतिवेदनमा भनिएको छ, “गत वर्षको २२ ज्यानुअरीको दिनमा बसेको उक्त निकायको पहिलो बैठकले नै त्यस्तो घोषणा गर्नुपर्थ्यो ३० ज्यानुअरीसम्म प्रतीक्षा गर्नुहुँदैन थियो।
डब्ल्यूएचओले गरेको महामारी घोषणापछिको महिनामा देशहरूले उक्त भाइरसको विस्तारलाई रोक्ने उपयुक्त उपायहरू लिन असफल भएपछि त्यो समय खेर गएको थियो।
त्यसपछि डब्ल्यूएचओको कदमहरू यात्रामाथिको प्रतिबन्ध अन्तिम उपायका रूपमा मात्रै लागु गरिनुपर्छ भन्ने उसका आफ्नै नियमहरूका कारण अवरुद्ध हुन पुगेका थिए।
उक्त स्वतन्त्र समूहले भनेको छ युरोप र अमेरिकाले आफ्ना अस्पतालहरू भरिन थालेपछि मात्रै सक्रियता देखाएर सिङ्गो फेब्रुअरी महिना खेर फालेको देखियो।
त्यसैगरी देशहरूले महामारीलाई ध्यानमा राखेर आआफ्ना स्वास्थ्य सेवा प्रणालीहरूलाई कोभिड विरामीको उच्च सङ्ख्याका निम्ति तयार पार्नुको साटो कस्ले सबैभन्दा पहिला र सबैभन्दा धेरै सुरक्षात्मक पोसाक, उपकरण र औषधि भेला पार्न सक्छ भन्ने दौडमा लाग्न पुगेको पनि प्रतिवेदनको ठहर छ।
अर्को विनाशकारी महामारीबाट जोगिनका निम्ति गर्नुपर्ने महत्त्वपूर्ण सुधारकालागि पनि उक्त समूहले सुझाव दिएको छ।
•एउटा नयाँ विश्वव्यापी खतरा परिषद्को स्थापना हुनुपर्छ जससँग देशहरूलाई उत्तरदायी बनाउने अधिकार पनि हुनुपर्छ।
•सम्बन्धित देशको अनुमतिबिना नै महामारीसँग सम्बन्धित सूचना तथा जानकारीहरू सार्वजनिक गर्ने रोग निगरानी तथा अनुगमन प्रणालीको स्थापना
•खोपहरूलाई सार्वजनिक सम्पत्ति भनेर तोकिनुपर्छ र महामारीमा खर्च जुटाउने प्रावधान बनाइनु पर्छ
•धनी जी७ राष्ट्रहरूले न्यून आय भएका देशहरूलाई खोप सहायता पुर्‍याउने डब्ल्यूएचओको कोभ्याक्स कार्यक्रमका लागि तत्काल १.९ अर्ब डलर सहयोगको प्रतिबद्धता माग भएको थियो
उक्त प्यानलकी अर्की सहअध्यक्ष तथा न्यूजील्यान्डकी भूतपूर्व प्रधानमन्त्री हेलेन क्लार्कले भनिन्, “डब्ल्यूएचओ शक्तिसम्पन्न हुनु अति नै आवश्यक छ।”
“त्यस बेला यात्रा प्रतिबन्धहरू एकदम छिटो र व्यापक रूपमा लागु गर्न सकिएको भए यो रोगको यस्तो तीव्र विस्तारमा गम्भीर रूपमा नै रोक लगाउन सकिन्थ्यो। र त्यस्तो आवश्यकता अहिले पनि उत्तिकै रहेको छ,” उनले भनिन्। [image: _118490603_77b64704-bb32-4c9b-bff5-a5b22e49576e.jpg]