भक्तपुरमा २ साताभित्र अक्सिजन प्लान्ट सहितको अस्पताल बन्ने

२०७८ जेठ २ आइतवार
Newsdesk Shikharnews

भक्तपुरको सूर्यविनायक नगरपालिकाले अबको दुई साताभित्र अक्सिजन प्लान्टसहित ५० शैयाको नगर अस्पताल निर्माण गर्ने भएको छ । दस शैयाको आईसीयू, १५ शैयाको हाइकेयर डिपेन्डेन्सी युनिट (एचडीयू), दुई शैयाको भेन्टिलेटर र २३ शैयाको जनरल वार्ड सञ्चालनमा ल्याउन लागेको हो ।

नगरपालिका–८ स्थित सूर्यविनायकको जगातीमा निर्माणाधीन नगर अस्पतालमा कोरोनालगायत अन्य बिरामीलाई अत्यावश्यक पर्ने अक्सिजन प्लान्टसहितको अन्य पूर्वाधार निर्माणमा नगरपालिकाले तीव्रता दिएको हो ।

सूर्यविनायक नगरपालिकाले अस्पतालका लागि आवश्यक सामग्री खरिदका लागि तीन करोड र पूर्वाधार निर्माणका लागि एक करोड गरी चार करोड रुपियाँ तथा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको दुई करोड २५ लाख रुपियाँ गरी जम्मा छ करोड २५ लाख रुपियाँमा नगर अस्पताल निर्माण गर्न लागेको नगरप्रमुख वासुदेव थापाले जानकारी दिए। नगरवासीको स्वास्थ्यलाई ध्यानमा राखेर उच्च प्राथमिकता राख्दै नगरपालिकाले नगर अस्पताल निर्माण गर्न लागेको उनको भनाई छ ।

सांसद महेश बस्नेतले निर्माणाधीन नगर अस्पतालको अवलोकन गर्दै अबको दुई साताभित्र नगर अस्पताल सञ्चालनमा आउने गरी काम गर्न सरोकारवालालाई निर्देशन दिए। अक्सिजन र शैया अभावले कोरोना सङ्क्रमितलगायत अन्य बिरामीको मृत्यु हुनबाट रोक्नका लागि दुई साताभित्र अस्पताल निर्माण गर्न आफूले निरन्तर सक्रियता देखाएको उनको भनाई छ।

नगरपालिका–८ का अध्यक्ष किरण थापाले अबको दुई साताभित्र नगरपालिकाको आफ्नै नगर अस्पतालमा अक्सिजन प्लान्टसहितको उपचार नगरवासीले पाउने बताए । नगरपालिकाले अहिले अस्पताल निर्माणका लागि धमाधम काम अगाडि बढाइरहेको छ । आर्थिक अभियान दैनिकबाट