गुल्मीमा जिप दुर्घटना हुँदा तीनको मृत्यु, ६ जना घाइते

२०७८ असोज २९ शुक्रवार
Shikhar News Admin

गुल्मी। गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुटवलबाट तम्घास आउँदै गरेको लु १ ज ४४९० नम्बरको जिप दुर्घटना भएको हो।
दुर्घटनामा मुसिकोट नगरपालिका २ जलजले का ७२ बर्षीय क्षेत्रबहादुर थापा, मुसिकोट नगरपालिका २ जलजलेका ४५ बर्षीया राधिका थापा र मुसिकोट नपा ३ चुदरीगाउँका १९ बर्षीया संगिता सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए।
उनकाअनुसार दुर्घटनामा ६ जना घाइते छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर छ। दुर्घटनामा मुसिकोट नगरपालिका ३ चुदारीगाउँका ४७ वर्षीया सुमित्रा सुनार, मुसिकोट नगरपालिका २ जलजले बस्ने ३८ बर्षीया जुना थापा र भरतपुर उपमहानगरपालिकी ५० बर्षीया राधा केसी गम्भीर घाइते छन्। उनीहरुको शरीरका विभिन्न भाग र टाउकोमा चोट लागेको भट्टराईले बताए ।
त्यस्तै मुसिकोट नगरपालिका २ जलजलेकी ४३ बर्षीया खिमा थापा, मुसिकोट नगरपालिका २ जलजलेका गाडी चालक २६ बर्षीय कमल थापा र मुसिकोट नपा २ जलजलेका ३६ बर्षीय राजु थापा सामान्य घाइते भएका छन् । घाइतेको गुल्मी अस्पताल र पाल्पाका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको छ । घाइतेको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो । [image: Jeep.jpg]