काठमाडौँको दक्षिणी भेगको रक्षकः जलविनायक गणेश

२०७८ चैत ८ मंगलवार
Newsdesk Shikharnews
Spread the love

काठमाडौँको दक्षिण साइडमा रहेको छ जल विनायक मन्दिर । काठमाडौका चार प्रशिद्ध विनायकमध्येको एक हो जल विनायक । जलविनायक कीर्तिपुर नगरपालिकाको चोभार गल्छी छेउँमा रहेको छ । यहाँसम्म पुग्नलाई निजी सवारी नहुनेले दक्षिणकाली जाने गाडीहरुबाट पनि पुग्न सक्छन् ।

धार्मिकरुपमा जलविनायक एकदमै महत्वपूर्ण मानिन्छ । यहाँ रहेको गणेश भगवानलाई काठमाडौँको दक्षिण साइडको रक्षक मानिन्छ । नेवार भाषामा जलविनायकलार्य कोयना द्ये भनिन्छ । प्रत्येक मंगलवार र भाद्र महिनाको गणेश चौथीमा यो मन्दिरमा भीड लाग्ने गर्छ ।

भित्र रहेको ढुंगाको ठूलो मूर्तिलाई गणेश मानेर पूजा गर्ने चलन रहेको छ मन्दिरमा ।

चोभारको गल्छी र बागमतीको किनारमा रहेको यो मन्दिर निकै ठूलो छ । तीनतले प्यागोडा शैलीको मन्दिर बाहिरबाट हेर्दा भव्य देखिन्छ । पौराणिक कथा अनुसार नेपालमण्डल अर्थात् काठमाडौँ उपत्यका पानीले भरिएको बेला स्वयम्भू ज्योति दर्शन गर्न महाचीन तिब्बतबाट आएका बोधिसत्व मञ्जुश्रीले चोभारको गल्छी काटेर पानी बाहिर पठाएको जनविश्वास रहँदै आएको छ । काठमाडौँ उपत्यकाको पानी बाहिर पठाएपछि दक्षिण साइडको रक्षाका लागी यहाँ जलविनायक गणेश मन्दिर स्थापना गरिएको धार्मिक विश्वास गरिन्छ ।

यो मन्दिर नेपाल सम्वत् ७२२ मा निर्माण गरिएको बताइन्छ । मन्दिर परिसरमा सुःखावती लोकेश्वर। वरुण, विष्णु, सूर्य शिव, पार्वती आदि देवीदेवताको मूर्तिसमेत देख्न सकिन्छ । मन्दिरको प्रवेशद्वारको दायाँ बायाँ दुई वटा सिंह र होचो स्तम्भमा गणेशको वाहन छुचुन्द्रो र टुँडालमा अष्टमातृका अष्टभैरव कुँदिएका छन् ।

यहाँको मन्दिरमा मानिसहरु शरिरमा कुनै पनि रोग नलागोस् भन्ने प्रार्थना गर्न आउने गर्छन् । त्यस्तै जलविनायक गणेशको पूजा आराधना गर्दा कुष्ट रोग निको हुन्छ भन्ने जनविश्वास पनि रहेको छ ।

महामञ्जुश्रीसँगको सम्बन्ध जोडिएका कारण यो मन्दिर तिब्बती बौद्धमार्गीका लागि पनि महत्वपूर्ण मानिन्छ । त्यसैले यहाँ तिबेतबाट पनि दर्शन गर्न आउने गर्छन् । त्यसबाहेक यहाँ धनसम्पत्ति र शक्तिको आराधना गर्न पनि भक्तजनहरु पुग्ने गरेका छन् ।