उपराष्ट्रपतिलाई टाउकोमा ताकेर गोली हान्न लाग्दा बन्दुक जाम भएपछि..

२०७९ भदौ १८ शनिवार
Kamal P

आर्जेन्टिनाकी उपराष्ट्रपति क्रिस्टिना फेर्नान्डिस डे कीर्च्नरको हत्या गर्ने प्रयास असफल भएको छ।

भिडमा उनीनजिकै पुगेर गोली प्रहार गर्न लागेका एक व्यक्ति पक्राउ परेका छन्। टाउकोतिर ताकेर गोली प्रहार गर्न लागिएको भए पनि सन्दिग्ध आक्रमणकारीको बन्दुक जाम भएपछि उनी जोगिइन्।

भ्रष्टाचारको मुद्दामा परेकी उपराष्ट्रपति क्रिस्टिना फेर्नान्डिस डे कीर्च्नर पहिला देशकी राष्ट्रपति थिइन्।

उनी आफ्ना समर्थकहरूलाई अभिवादन गर्न आफ्नो निवासबाहिर निस्किएको बेला उक्त घटना भएको हो।

पक्राउ परेका ३५ वर्षीय व्यक्ति ब्रजिलका नागरिक भएको बताइएको छ। उनले बोकेको ह्यान्डगनमा पाँचवटा गोली भएको राष्ट्रपति अल्बर्टो फेर्नान्डिसले बताएका छन्।

बिहीवार राति उक्त घटना भएपछि भोलिपल्ट उनका हजारौँ समर्थकहरूले राजनीतिक हिंसाको विरोध गर्दै प्रदर्शन गरेका छन्।

राष्ट्रपतिले उपराष्ट्रपतिप्रति समर्थन व्यक्त गर्न शुक्रवार देशभरि बिदा दिएका थिए।

को हुन् फेर्नान्डिस डे कीर्च्नर ?
फेर्नान्डिस डे कीर्च्नर वामपन्थी नेत्री हुन्। उनी ६९ वर्षकी भइन्। उनी सन् २००७ देखि २०१५ सम्म देशकी राष्ट्रपति थिइन्। त्यसअघि उनका पति राष्ट्रपति हुँदा उनी चार वर्ष देशकी ‘प्रथम महिला’ थिइन्।

ती व्यक्तिले उनीमाथि किन आक्रमण गर्न लागेका थिए भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

सामाजिक सञ्जालमा देखा परेको एउटा भिडिओमा भिडको बीचबाट उनलाई बन्दुक ताकिएको देखिन्छ। सुरुमा उनले के भइरहेको छ भन्ने छुट्ट्याउन नसकेर छक्क परेको र भुइँमा खसेको सामान उठाउन निहुरिएको खोजेको देखिन्छ।

अर्को भिडिओमा भिडमा भएका अरू मानिसले उपराष्ट्रपतिलाई नजिकै आइपुगेर बन्दुक ताकेका ती सशस्त्र व्यक्तिबाट जोगाउन खोजेको देखिन्छ।

उक्त घटनाबारे उनले सार्वजनिक टिप्पणी गरिसकेकी छैनन्।

क्रिस्टिना फेर्नान्डिस डे कीर्च्नरलाई ठगीको आरोप लागेको छ। राष्ट्रपति हुँदा सार्वजनिक कोष आफ्नो प्रभाव रहेको क्षेत्रतिर प्रवाह गरेको आरोप पनि उनलाई लागेको छ।

दोषी ठहर भएमा उनलाई १२ वर्ष जेल सजाय र राजनीतिमा आजीवन प्रतिबन्ध लगाउनुपर्ने माग अभियोजनकर्ताहरूको छ।  तर उनी सिनेटकी अध्यक्ष पनि हुन्।

उनीसँग संसदीय उन्मुक्ति भएको हुँदा उनलाई दिइएको सजाय सर्वोच्च अदालतले सदर नगरेसम्म उनले जेल जानुपर्दैन। अथवा सन् २०२३ को अन्त्यतिर हुने संसदीय निर्वाचनमा उनी पराजित भइन् भने पनि उनले दिइने सजाय लागु हुनसक्छ।

को हुन् सन्दिग्ध व्यक्ति ?
पक्राउ परेका व्यक्तिकी आमा आर्जेन्टिनाकै नागरिक भएको प्रहरीले बताएको छ। उनका पिता ब्रजिलका भएपनि उनी सन् १९९३ देखि उनी आर्जेन्टिनामै बस्दै आएका छन्।

उनलाई गत वर्ष एउटा ठूलो चक्कु बोकेको अवस्थामा फेला पारेपछि प्रहरीले पक्राउ गरेको थियो।  उपराष्ट्रपति क्रिस्टिना फेर्नान्डिस डे कीर्च्नरलाई गोली प्रहार गर्न लागिएको स्थानमा विधिविज्ञान विज्ञहरूले काम गरिरहेको बेला सुरक्षा प्रदान गर्दै प्रहरीहरू

उपराष्ट्रपति क्रिस्टिना फेर्नान्डिस डे कीर्च्नरलाई गोली प्रहार गर्न लागिएको स्थानमा विधिविज्ञान विज्ञहरूले काम गरिरहेको बेला सुरक्षा प्रदान गर्दै प्रहरीहरू

सामाजिक सञ्जालबाट सङ्कलित उनका तस्बिर प्रकाशित गर्दै आर्जेन्टिनाका सञ्चारमाध्यमले उनको शरीरमा बनाइएका ट्याटूका आधारमा ती व्यक्तिको सम्बन्ध नवनाजी समूहहरूसँग हुन सक्ने जनाएका छन्। तर प्रहरीले यसबारे केही भनिसकेको छैन।साभार: बिबिसी