‘निशा घिमिरे स्मृति पुरस्कार’ अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई प्रदान

२०७९ भदौ २० सोमवार
Kamal P

काठमाडौ । अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई ‘निशा घिमिरे स्मृति पुरस्कार’ द्धारा पुरस्कृत गरिएको छ । राजधानीमा सोमबार आयोजित एक समारोहकाबीच आचार्य र उप्रेतीलाई पुरस्कार प्रदान गरिएको हो । पुरस्कारमा जनही २५ हजार नगद सहित ‘सम्मान पत्र’ रहेको छ ।

केही वर्षअघि भारतमा सडक दुर्घटनामा परेकी अभिनेत्री, मोडल निशाको दयनीय अवस्थामा नवजीवन परोपकार समाजको पहलमा मेघा चौधरीमार्फत नर्भिक अस्पतालमा निःशुल्क उपचार गरिएको थियो । ५–६ महिनाको उपचारपछि उपचाररत अवस्थामा नै घिमिरेको २०७८ भदौ १६ गते निधन भएको थियो ।

निशा उपचाररत अवस्थामा नै देशविदेशमा रहेका शुभेच्छुकहरुले उनको स्वास्थ्य लाभको कामना गर्दै सहयोग रकम पठाएका थिए । सोही रकमबाट गत वर्ष घिमिरेको नाममा नवजीवन परोपकार समाज र नेपाल चलचित्र कलाकार संघको पहलमा संरक्षण कोष ‘निशा घिमिरे स्मृति कोष’ स्थापना भएको थियो ।

सोही कोषमा जम्मा हुन आएको रकमलाई निशा दिवंगत भएपछि अक्षय कोषमा राखी प्रत्येक वर्ष दुई मोडल, अभिनेत्रीलाई पुरस्कार दिने निर्णय भए बमोजिम यस वर्षको पुरस्कार पवित्रा र उषालाई समर्पण गरिएको हो ।