काठमाडौमा जारी महिला साफ च्याम्पियनसिपमा भारतद्वारा पाकिस्तान ३–० ले पराजित

२०७९ भदौ २२ बुधवार
Kamal P

काठमाडौँ । नेपालमा जारी छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा साविक विजेता भारतले पाकिस्तानलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पाकिस्तानलाई ३–० गोल अन्तरले हराउँदै भारतले सुखद सुरुवात गरेको हो ।

भारतले पाकिस्तानविरुद्ध सुरुवाती अग्रता भने आत्मघाती गोलबाट बनाएको थियो । खेलको २१ औँ मिनेटमा पाकिस्तानका कप्तान मारिया खानको आत्मघाती गोल गरेपछि भारतले १–० को अग्रता बनाएको थियो ।

खेलको २३ औँ मिनेटमा ग्रेस डाङमेईले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन् । त्यसपछि खेलको इन्जुरी समयमा सौम्याले गोल गर्दै भारतलाई ३–० को जित दिलाइन् । जितसँगै समूह ’ए’ को भारतले ३ अंक जोडेको छ । प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।