New from Nepal

चिनी उद्योगको धुलोले स्थानीयलाई समस्या

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवलमा रहेको लुम्बिनी चिनी उद्योगले प्रदूषण नियन्त्रण गर्ने उपकरण प्रयोग नगर्दा स्थानीयवासीलाई समस्या भएको छ। मुख्य बजार क्षेत्रमा रहेको उक्त उद्योगले उखु क्रसिङ सुरु गरेपछि उडेको खरानीसहितको धुलोका कारण सुनवल बजार क्षेत्रका बासिन्दा प्रभावित भएका हुन् ।

खेतबारीमा रोपेको बालीनालीमा पनि धुलोले असर गरेको छ । खरानीसहितको धुलोका कारण स्वास्थ्यमा पनि असर गर्न थालेको र वातावरणमा नकारात्मक प्रभाव परेकाले उद्योगलाई प्रदूषण नियन्त्रण गर्न ध्यान आकर्षण गराइएको सुनवल नगरपालिकाका नगरप्रमुख विमला अर्यालले बताउनुभयो ।

‘उद्योगको ध्यानाकर्षण गराए पनि कार्यान्वयन नभएकाले यस विषयमा उद्योग व्यवस्थापन पक्षसँग छलफल गर्ने तयारी गरेका छौँ’, उहाँले भन्नुभयो, ‘सुनवलवासीलाई उद्योगले समस्यामा पारेकाले प्रदूषण नहुने गरी सञ्चालन गर्नुपर्ने हाम्रो माग छ ।’ उद्योगको धुलोका कारण हिँडडुल गर्न र कपडा धोएर सुकाउन नपाएको स्थानीयको गुनासो छ ।

उद्योगका प्रशासन प्रमुख कुश सुवेदीले धुलो नियन्त्रणका लागि आवश्यक उपकरण खरिद प्रक्रिया अगाडि बढेको बताउनुभयो । ‘केही दिनमै समस्या समाधान हुन्छ’, उहाँले भन्नुभयो । उद्योगले केही दिन अगाडिदेखि उखु पेल्न सुरु गरेको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रहेका तीन ठूला चिनी उद्योगमध्ये बाँकी दुईले भने धुलो नियन्त्रणका लागि उपकरण जडान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *