New from Nepal

मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत लिनुभएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाउनुभएको छ । तर, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागबन्डा टुङ्गिएको छैन ।

आज बस्ने बैठकले यसअघि नियुक्त हुनुभएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागबन्डा टुङ्गो लगाउने तयारी गरेको छ ।
प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुनेछ । प्रचण्डले बुधवार साँझ मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक विषयमा छलफल गर्नुभएको थियो ।

पुस १० गते प्रधानमन्त्री बन्नुभएका दाहाललाई मङ्गलवार नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *