वाग्मती प्रदेशमा उपसभामुख चयनका लागि आज मतदान

२०७९ माघ २ सोमवार
NewsDesk ShikharNews

काठमाडाैं । वाग्मती प्रदेश सभाकाे उपसभामुखका लागि सोमबार चुनाव हुँदैछ । दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उपसभामुख चयनका लागि चुनाव हुन लागेकाे प्रदेश सभा सचिवालयले जनाएकाे छ ।

उपसभामुखका लागि सत्ता गठबन्धनबाट नेकपा एमालेकी अप्सरा चापागाईं, कांग्रेसकी सुना परियार र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की रिता काफ्लेले उम्मेदवारी परेकाे छ ।

अप्सराको प्रस्तावकमा कुमारी मोक्तान र समर्थकमा आशा लामा हुनुहुन्छ । सुनाको प्रस्तावकमा उत्तम जोशी र समर्थक याङकिला शेर्पा हुनुहुन्छ । गीताको प्रस्तावकमा सुरेन्द्रराज गोरसाईँ र समर्थकमा सृजना सैजू हुनुहुन्छ ।

प्रदेश सभामा सात राजनीतिक दलका गरी १ सय १० जना प्रदेश सभाका सदस्य छन् । प्रदेश सभामा नेपाली कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद् छन् । 

यसअघि वाग्मती प्रदेशकाे सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित भइसक्नुभएकाे छ । पुस २९ गते बसेकाे वाग्मती प्रदेश सभाकाे बैठकमा भएकाे मतदानमा ६२ मत प्राप्त गर्दै पाठक सभामुखमा निर्वाचित हुनुभएकाे थियाे ।