कांग्रेसका लागि उपसभामुख र उपराष्ट्रपति खाली छ : विष्णु रिजाल

२०७९ माघ ३ मंगलवार
NewsDesk ShikharNews

काठमाडौं । नेकपा एमालेले उपसभामुख र उपराष्ट्रपति नेपाली कांग्रेसलाई दिन सकिने संकेत गरेको छ । राष्ट्रपति र सभामुखको निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सर्वदलीय बैठकमा छलफल गर्ने तयारी गरिरहेका बेला एमालेबाट यस्तो संकेत आएको हो ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले उपराष्ट्रपति र उपसभामुखमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई राजी गराए नराम्रो नहुने बताउनुभएको छ । उहाँले सभामुख र राष्ट्रपति प्रचण्डकै प्रस्तावमा एमालेले लिने सहमति यसअघि भइसकेको प्रष्ट पार्नुभएको छ ।

‘प्रचण्डको प्रस्तावमा राष्ट्रपति र सभामुख एमालेलाई अनि प्रधानमन्त्री माओवादीलाई भनेर बाँडफाँट पहिल्यै टुंगिसकेको छ । अहिले कांग्रेसलाई पनि समेटेर लैजाने प्रधानमन्त्रीको प्रस्तावलाई अन्यथा लिइहाल्नु पर्दैनु,’ रिजालले ट्वीटरमा लेख्नुभएको छ,’ किनभने, उपराष्ट्रपति र उपसभामुख बाँकी छ । कांग्रेसलाई राजी गराउनुभयो भने नराम्रो के छ र ?’

प्रधानमन्त्री दाहाललाई कांग्रेसले पनि विश्वासको मत दिएको थियो । प्रधानमन्त्री दाहालले झण्डै सिंगै सदनको विश्वास पाएपछि राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने बताउँदै आउनुभएको छ ।