प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आज बस्दै

२०७९ माघ ५ बिहीवार
NewsDesk ShikharNews

काठमाडाैं । संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाकाे बैठक आज बस्दैछ ।प्रतिनिधि सभाकाे बैठक बिहान ११ बजे बस्दैछ । राष्ट्रिय सभा बैठक दिउँसाे १ बजेर १ मिनेटमा बस्दैछ ।

प्रतिनिधि सभाकाे आजकाे बैठककाे सुरुमै ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनुहुनेछ । त्यसपछि सभामुखसम्बन्धी दुई वटा प्रस्ताव पेस हुने संघीय संसद् सचिवालयले जनाएकाे छ ।

सभामुख पदको निर्वाचनका लागि नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभाका सदस्य देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्नेहुनेछ । साे प्रस्तावलाई प्रतिनिधि सभा सदस्यहरु हीतराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछानेले समर्थन गर्नुहुने कार्यसूची छ ।

सभामुख पदकै लागि नेपाली कांग्रेसको तर्फबाट विश्वप्रकाश शर्माले प्रतिनिधि सभा सदस्य ईश्वरीदेवी न्यौपानेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । साे प्रस्तावलाई प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले समर्थन गर्नुहुाे कार्यसूची छ ।

राष्ट्रिय सभा बैठकमा राष्ट्रिय  सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनुहुने कार्यसूची छ । राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची पनि छ ।

बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुहुने संसद् सचिवालयले जनाएकाे छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक,२०७९ समा समक्ष पेस गर्ने कार्यसूची पनि छ ।