कठजाेरमा गुणस्तरीय शिक्षाको लागि शिक्षक तथा सरोकारवाला बिच अन्तरक्रिया

२०७९ माघ ८ आइतवार
NewsDesk ShikharNews

काठमाडौं । रामेछापको मन्थली नगरपालिकाले सामुदायिक शिक्षा सुधारको लागि विभिन्न कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले शिक्षा सुधारको लागि योजना नै बनाएर काम सुरु गरेको छ । सोही योजना अनुसार अभिभावक, शिक्षक, विद्यार्थी, सरोकारवाला निकायसँग छलफल, प्रशिक्षण लगायतका काम गरिरहेको छ । 

त्यस्तै आन्तरिक व्यवस्थापन सुधार, शिक्षण सिकाइ उपलब्धिको लागि प्रधानाध्यापक तथा शिक्षकहरूसँग दोहोरो सम्झौता, विद्यार्थी, शिक्षक डायरी, दैनिक कामको अभिलेखीकरण लगायतका विभिन्न काम नगरपालिकाले सुरु गरेको छ । 

यसै क्रममा आइतबार मन्थली नगरपालिका–२ कठजोरको निलकण्ठेश्वर मावि कठजोरमा गुणस्तरीय शिक्षाको लागि शिक्षक तथा सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । 

कार्यक्रममा  शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिवाक तथा शिक्षासँग सम्बन्धित स्थानीय सरोकारवालाको सहभागिता रहेको छ । मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत, सामाजिक विकास समितिका संयोजक एवं वडा नं ८ वडाध्यक्ष गोपाल श्रेष्ठ, वडा नं २ का वडाध्यक्ष सुरेन्द्र कार्की, वडा नं ३ का वडाध्यक्ष कृष्णगोपाल थापा, मन्थली नगरपालिको महाशाखा प्रमुख हेमन्त बुढाथोकी लगायतको सहभागिता रहेको थियो । 

कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले सामुदायिक शिक्षाको गुणस्तर सुधार नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो । शिक्षाको गुणस्तर सुधारको काम पैसाको अभावले नरोकिने उहाँले बताउनुभयो । यसको लागि योजना बनाएर लाग्न उहाँले सरोकारवाललाई अनुरोध गर्नुभयो । त्यसको लागि आवश्यक स्रोत र साधनको व्यवस्थापन नगरपालिकाले गर्ने उहाँले प्रष्ट पार्नुभयो ।