तानसेन–रिडी–तम्घास सडक एक महिना बन्द हुने

२०७९ माघ ११ बुधवार
NewsDesk ShikharNews

काठमाडौँ । तानसेन–रिडी–तम्घास सडक खण्ड एक महिना बन्द हुने भएको छ । सो सडक खण्डको मालमुल जोर्ते क्षेत्रमा सडक चौडा गर्नका लागि सडक बन्द हुने भएको हो ।

माघ १० गतेदेखि फागुन ९ गतेसम्म सवारी आवागमन बन्द गरेर सडक मर्मत र चौडा गर्ने काम हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

हरेक दिन बिहान ५ देखि ९ बजेसम्म, मध्याह्न १२ देखि दिउँसो ४ बजेसम्म र बेलुका ६ देखि राति १० बजेसम्म सबै सवारी आवागमन बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले बताउनुभयो ।

यसअघि पनि सोही सडक खण्डमा पटक–पटक सूचना निकालेर सडक चौडा पार्ने काम हुँदै आएको थियो । उक्त सडक खण्ड भएर पाल्पा, गुल्मीलगायतका क्षेत्रका यात्रु दैनिक आवतजावत गर्दछन् ।

यस सडक खण्ड भएर आवतजावत गर्ने यात्रुले वैकल्पिक रूपमा जोर्ते, लुहुङ हुँदै तानसेनको बतासे डाँडाको बाटो प्रयोग गर्ने गरेका छन् ।