रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता

२०७९ माघ १५ आइतवार
developer_admin

काठमाडौं। निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नेपाली नागरिकता पुन: कायम भएको छ । लामिछाने आज नागरिकता पुन: कायमको प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं गएका थिए।

लामिछानेको पुन: नेपाली नागरिकता कायम गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका नागरिकता शाखाका प्रमुखसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले  जानकारी दिए । उनको वंशजकै नागरिकता पुन: कायम भएको छ ।

सर्वोच्च अदालतले शुक्रबार रविले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर गरेको थियो । सर्वोच्च अदालतले नागरिकतामा दोषी ठहर गरेपछि उनले मन्त्री र सांसद पद गुमाएका छन् ।

लामिछानेले अमेरिकाको नागरिकताको प्रमाणपत्र त्यागिसकेको र त्यसको निस्सा पाइसकेकाले उक्त निस्सा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएर प्रक्रिया पूरा गरी नयाँ नागरिकता पाएका छन् ।

अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रूपमा गरेका सबै कार्य अवैध हुने सर्वोच्चको संवैधानिक इजलासले फैसला गरेको थियो ।

(fisheries.org)