New from Nepal

केन्द्रीय बैठक सम्पन्न : संविधान र लोकतन्त्रको रक्षाका लागि जोड

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पाँचौँ केन्द्रीय कमिटीको पूर्ण बैठकले संविधान र लोकतन्त्रको रक्षाका लागि एकताबद्ध हुन सबैलाई आग्रह गरेको छ ।

निर्वाचनपछि पहिलोपटक राजधानीमा दुई दिनसम्म बसेको बैठकले मुलुकमा बढ्दै गएको राजनीतिक अस्थिरताले देशको राष्ट्रियता कमजोर भई संविधान र लोकतन्त्र सङ्कटमा पर्न सक्ने खतरा रहेकाले सम्पूर्ण लोकतान्त्रिक र देशभक्त शक्तिलाई एकजुट हुन आग्रह गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

समाजवादी कार्यदिशा अँगालेका सम्पूर्ण वामपन्थी र कम्युनिष्ट पार्टीलाई राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्दै समाजवादउन्मुख आर्थिक सामाजिक रुपान्तरणका लागि एक भएर अगाडि बढ्न जोड दिएको बैठकले जातीय विभेदको अन्त्य गरी सामाजिक समानता कायम गर्न माग गरेको छ ।

मिलेनियम च्यालेन्जेज कर्पोरेसन (एमसिसी)को व्याख्यात्मक टिप्पणीअनुसार कार्यान्वय भए नभएको अनुगमन गर्न उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्न माग गरेको बैठकले वामपन्थी आन्दोलनलाई एकजुट बनाउन पहल कदमी गर्ने, मुलुकमा शान्ति, स्थिरता र विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

पछिल्लो पटक विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा छलफल गरेको बैठकले मुलुकमा विद्यमान आर्थिक सङ्कटको न्यूनीकरण गर्न माग गरेको छ ।

बैठकले किसानलाई बीउ बिजन, मलको व्यवस्था तथा सरकारले तोकेको मूल्यमा उनीहरूको धान खरिद गर्न सरोकार पक्षलाई आग्रह गरेको बैठकले विदेशी कृषि वस्तुको आयातमा नियमन गरी पीडित कृषकलाई राहत उपलब्ध गराउन माग गरेको छ ।

बैठकले भ्रष्टाचार, कमिसन, भूमाफिया, विचौलियाविरुद्ध एकीकृत आन्दोलन सिर्जना गर्न सबै वर्ग, समुदायलाई आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *