राष्ट्रपति निर्वाचनको विषयले बद्लिएको समीकरण

२०७९ फागुन १६ मंगलवार
Newsdesk Shikharnews

काठमाडौं। नेकपा माओवादी केन्द्रले सत्ता समिकरण बदल्दै राष्ट्रपति पदमा कांग्रेसको उम्मेदवारलाई समर्थन गरेपछि नेकपा एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएर सरकारबाट बाहिरिएको छ ।

राष्ट्रपति निर्वाचनको विषयमा पुरानो राजनीतिक गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि केन्द्रदेखि प्रदेश सरकारको सत्ता समीकरण पनि बदलिने परिस्थिति बनेको हो ।

गत मंसीरमा आमनिर्वाचनमा कांग्रेस-माओवादीसहित पाँच दलीय गठबन्धन बनेको थियो । एमाले एकल प्रतिस्पर्धामा चुनावी मैदानमा थियो । आम निर्वाचनमा पाँच दलीय गठबन्धन सरकार गठनकालागि बहुमतको नजिक रहँदा सरकारको नेतृत्वको विषयलाई लिएर कांग्रेस र माओवादीबीच मतभेद देखा पर्‍यो ।

अन्ततः माओवादीले गठबन्धन परिवर्तन गर्दै एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगाएतको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने।

प्रधानमन्त्रीले संसदवाट विश्वासको मत लिने वेला कांग्रेस संसदमा प्रतिनिधित्व गर्ने अधिकांश दलहरुले विश्वासको मत दिए । कांग्रेस लगाएतका दलले विश्वासको मत दिएपनि एमाले, माओवादी राप्रपा लगाएत अन्य दलहरु सम्मिलित गठबन्धनको सहभागितामा केन्द्रदेखि प्रदेश सरकारहरु गठन भए ।

काँग्रेस सवै भन्दा ठूलो दल भएपनि संघ र प्रदेश सरकारमा नेपाली काँग्रेस सहभागि भएन । तर अहिले परिस्थिति फेरिएको छ । यतिवेला राष्ट्रपतिमा माओवादीले कांग्रेसका उम्मेद्वार रामचन्द्र पौडेललाई समर्थन गरसँगै पुनः केन्द्रदेखि प्रदेश सरकारको सत्ता समिकरण फेरबदल हुने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता संगै केन्द्रदेखि प्रदेश सरकार समिकरण पनि बदलाव आउने परिस्थिति बनेको हो । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै केन्द्र र सातै प्रदेशमा सरकारमा प्रधानमन्त्री र मुख्यमन्त्रीहरूले पुनः आफ्नो पक्षमा बहुमत जुटाउनुपर्ने हुन्छ ।

अहिले प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार छ । बागमती र कर्णाली प्रदेशमा माओवादी, मधेस प्रदेशमा जनता समावादी पार्टी र सुदुरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकार छ ।

एमाले सरकारबाट बाहिरिए पनि यी प्रदेशको सत्ता समिकरणमा कुनै प्रभाव पर्ने देखिदैन । तर एमालेले नेतृत्व गरेका प्राय सबै प्रदेश सरकार गुमाउनेछ र ती प्रदेशमा कांग्रेस, माओवादी सहित गठबन्धनमा रहेका दलहरुको स्पष्ट बहुमत रहने अंकगणित देखिन्छ ।

सुदुरपश्चिम प्रदेशको हकमा भने एमालेले विश्वासको मत लिन नसकेपछि ठुलो दलको हैसीयतमा कांग्रेसले प्रदेश सरकारको नेतृत्व गरेको छ । पछिल्लो समय कांग्रेस र माओवादीबीच गठबन्धन बनेको हुँदा सुदूरपश्चिम प्रदेशमा माओवादीलेले समर्थन दिए लगतै प्रदेश सरकारले विश्वासको मत पाउने देखिन्छ ।