राष्ट्रपतिद्वारा कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान

Vianet

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कृत्रिम खुट्टाको सहायताले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हरि बुढामगरलाई हार्दिक बधाई दिएका छन् ।

Vianet

राष्ट्रपति पौडेलको सो बधाई सन्देश राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल र राष्ट्रपतिका सुपुत्री अवज्ञा पौडेलले आज यहाँ आयोजित कार्यक्रममा बुढामगरलाई हस्तान्तरण गरे । ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथा आरोहणमा बुढामगरले राखेको विश्व कीर्तिमान लगन, साहस र गौरवको प्रतीकका रूपमा सबैका लागि सदैव प्रेरणाको विषय हुनेछ भन्ने आफूलाई विश्वास लागेको राष्ट्रपति पौडेलले बधाई सन्देशमा उल्लेख गरे ।

“घुँडामुनिको शारीरिक भाग गुमाउँदा पनि कुनै हिम्मत नहारी आफ्नो दैनिक जीवनयपानलाई सहज एवं सरल बनाउँदै सगरमाथा आरोहण जस्तो दुरुह तथा साहसिक कार्य सफलतापूर्वक सम्पन्न गर्नु तपाईंको आफ्नो दृढ इच्छाशक्ति र मेहनतको प्रतिफल हो”, राष्ट्रपति पौडेलको सन्देशमा भनिएको छ ।

राष्ट्रपति पौडेलले शारीरिक अशक्त व्यक्ति कोहीभन्दा केहीमा पनि कमजोर हुँदैनन् भन्ने आत्मविश्वास अन्य व्यक्तिमा जगाउन यो सफलता उदाहरणीय बनोस् भन्ने कामना गरेका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगर यही जेठ ५ गते दिउँसो ३ बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । यससँगै पूर्वगोर्खा सैनिक बुढामगरले सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका हुन् ।

झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका थिए । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा मुनिबाट गुमाएका थिए । बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : 
info.shikharnews@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री