चितवन प्रहरीले भन्यो– रविलाई बयान सकेर हिरासतमै नलगी कास्की लगेका थियौं
२०८१ मंसिर २३ आइतवार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक सङ्कट, सुशासन, सामाजिक न्याय र समृद्धिमा देखिएको चुनौती सामना गर्न राजनीति दल र नेतृत्व एक भएर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले राष्ट्रिय समस्या समाधान गर्ने, जनताको आवश्यकता र चाहना सम्बोधन गर्ने दृष्टिकोणबाट सबै दल एक ठाउँमा उभिन आवश्यक रहेको बताए ।
“कहीँ न कहीँ हामीले समझदारी र सहमति कायम गर्न आवश्यक छ”, उनले भने, “देशका अगाडि जे–जस्ता समस्या र चुनौती छन्, ती समस्या र चुनौतीको समाधान गर्न राष्ट्रिय सहमतिको आवश्यक छ ।” प्रधानमन्त्री दाहालले देशका अगाडि विद्यमान समस्या, भ्रष्टाचार र बेथिति, विसङ्गतिविरुद्धको लडाइँ सबै मिलेरमात्रै जित्न सकिने बताए । ।
मुलुकमा देखिएका तमाम बेथितिमा सरकारको ध्यान गएको उल्लेख गर्दै उनले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयलाई पनि सरकारले गम्भीरताका साथ लिएको बताए । “राजस्वलगायत अन्य क्षेत्रमा देखिएका बेथितिमाथि सरकारको ध्यान छ, कदम–कदम गरेर ती सबै सच्याउनुपर्छ, त्यसका निम्ति सबै राजनीतिक दल र सदनको सहयोगको आवश्यक छ”, प्रधानमन्त्री दाहालले भने ।
तेस्रो कार्यकाललाई आफूले चुनौती र अवसरका रूपमा लिएको जनाउँदै उनले जनताको सङ्घर्षबाट प्राप्त परिवर्तन नै धरासायी हुने छटपटीको अन्त्य गर्न आत्मसमीक्षा गर्न जरुरी रहेको बताए । “आफैँलाई ‘करेक्सन’ नगरी जनतामा पैदा भएको मनस्थितिलाई बदल्न सकिँदैन, मैले आफूलाई ठूलो अग्नि परीक्षामा रहेको महसुस गरेको छु, सम्पूर्णरूपमा सुशासन, सामाजिक न्याय र समृद्धिका निम्ति आफूलाई समर्पित गर्ने सङ्कल्प लिएको छु”, उनले भने ।
प्रधानमन्त्री दाहालले समृद्धिको अभियानको थालनीमा सबैको सहयोग आवश्यक रहेको बताए । अहिले सरकार र जनता एक ठाउँमा जोडिन थालेको आफूलाई अनुभूति भएको उल्लेख गर्दै उनले सरकारले चाल्न थालेका कदम र जनताको भावनामा सम्बन्ध जोडिँदै गएको बताए ।
उनले संसद् देश र जनताको सर्वोत्तम हित र सरोकारका विषयमा रचनात्मक छलफल गरी सकारात्मक उपाय पहिल्याउने थलो भएको बताए । लोकतान्त्रिक अभ्यासलाई थप परिष्कृत बनाउँदै लोकतन्त्रलाई अझ उन्नत र सुसंस्कृत बनाउने दिशामा सबैको ध्यान केन्द्रित हुन जरुरी रहेको उनको भनाइ थियो ।
प्रधानमन्त्री दाहालले वर्तमान सरकार देशका सामु विद्यमान चुनौतीलाई सम्बोधन गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्रमुख प्राथमिकतामा राखी दृढतापूर्वक लागिपरेको जनाए । उनले नीति कार्यक्रम आर्थिक सामाजिक रूपान्तरणको नवीन सोचका कार्यक्रमसहित प्रस्तुत भएको बताए ।
“नेपालको संविधानले दिशानिर्देश गरेका राज्य सञ्चालनका आधारभूत मान्यता, निर्देशक सिद्धान्त तथा नीति, विश्व समुदायसमक्ष गरेको प्रतिबद्धता एवं आवधिक योजनामा समावेश दीर्घकालीन महत्त्वका विषयलाई नीति कार्यक्रममा प्राथमिकीकरण गरिएको छ”, उनले भने ।
प्रधामन्त्री दाहालले नीति कार्यक्रमले सरकारका नीतिगत प्राथमिकतालाई दिशाबोध गरेको र अन्य विस्तृत कार्यक्रम बजेटमार्फत सम्बोधन हुने विश्वास दिलाए । “नीति कार्यक्रममा हाम्रो राष्ट्रिय आकाङ्क्षा प्रतिविम्बित भएको छ, राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय हितको संरक्षण गर्दै सबल र न्यायपूर्ण नेपाल निर्माण गर्ने लक्ष्य दृढ सङ्कल्पका साथ ठोस कार्यक्रम अगाडि सारिएको छ”, उनले भने ।