सरकारले नै बेहोर्ने राष्ट्रपतिको ५५ लाख उपचार खर्च

२०८० असार १९ मंगलवार
developer_admin

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च बेहोर्ने भएको छ ।

यहि १२ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको भएको हो ।

राष्ट्रपति पौडेलले भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ बेहोर्ने निर्णय भएको स्रोतले जनाएको छ ।

यसअघि राष्ट्रपति आफैंले उपचार खर्च बेहोर्न चाहेको भनी उनको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो । स्वदेशमै हुन सक्ने सामान्य उपचारका लागि विदेश गएको भनी आलोचित पौडेलका तर्फबाट कार्यालयले वक्तव्य जारी गर्दै आलोचना मत्थर गरेको थियो । अहिले भने सरकारले नै उक्त रकम तिर्ने निर्णय भएको हो ।

काठमाडौंबाट दिल्लीमा एयर एम्बुलेन्समा राष्ट्रपतिलाई लैजाँदा सबैभन्दा धेरै ३३ लाख रुपैयाँ खर्च भएको स्रोतले बताएको छ । स्रोतका अनुसार दिल्लीको उपचारमा करिब ७ लाख रुपैयाँ र फर्कंदाको करिब ६ लाख खर्च भएको देखिएको छ ।