‘हाम्रा नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ’: सञ्चार मन्त्री शर्मा

२०८० असार २१ बिहीवार
developer_admin

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान र ऐनबमोजिम नीति, नियम, निर्देशिका र आचारसंहिता हुनुपर्नेमा जोड दिएकी छिन् ।

हाम्रा अधिकांश ऐनमा एउटा कुरा उल्लेख हुन्छ भने नियममा अर्कै कुरा हुन्छ, त्यसैगरी नीति एउटा बनाइन्छ भने व्यवहार, निर्देशिका र आचासंहितामा अर्कोकुरा उल्लेख भएकाले अब तिनमा तालमेल गराउनुपर्ने आवश्यकता औँल्याउँदै उनले यदी ऐन सही छैन भने त्यसलाई संशोधन गरी ऐनबमोजिम नियम बनाउनुपर्नेमा जोड दिइन् ।

विज्ञापन बोर्डद्वारा आयोजित ‘विज्ञापन नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालासँगको छलफल’ कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेकी शर्माले विज्ञापन नीति निर्माण गर्नुभन्दा पनि कार्यान्वयन कसरी गर्ने भन्नेबारेमा प्रष्ट दृष्टिकोण र योजना हुनुपर्ने बताइन् ।“विज्ञापन नीतिको मस्यौदामा धेरै विषयवस्तु समेटिएको छ तर यसलाई कार्यान्वयनमा कसरी लैजान्छौँ, यसको कार्यान्वयनका लागि मेकानिजम कसरी बनाउँछौँ र कसरी व्यवस्थित ढङ्गबाट अगाडि बढाउँछौँ भन्ने विषय नै मुख्य कुरा हो भन्ने मलाई लाग्छ”, उनको भनाइ थियो ।

कतिपय गलत विज्ञापनका कारण मान्छेको ज्यान जानेसम्मको अवस्था आउनु गलत भएको बताउँदै मन्त्री शर्माले त्यसको व्यवस्थापनका निम्ति पनि प्रष्ट नीति आवश्यक रहेकामा जोड दिइन् । मानव स्वास्थ्यको हिसाबले के कुराको विज्ञापन गर्न मिल्छ के कुराको विज्ञापन गर्न मिल्दैन भन्ने विषयमा पनि अति बढी कडाइ हुनुपर्ने उनले बताए ।

नेपालको संविधान, ऐन/कानुन, नीति, नियम र आचारसंहिता प्रतिकूल हुने गरी विज्ञापन गर्न नपाइनेमा जोड दिँदै मन्त्री शर्माले पछिल्लो समयमा विकास भएको डिजिटल मिडिया वा सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमन गर्नुपर्ने र विज्ञापन निर्माणका क्रममा मानव स्वास्थ्यलाई ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन् ।

(sapns2.com)