‘हिन्दूराष्ट्र नेपाल’ माग्दै भारतमा गतिविधि, त्यसको प्रभाव काठमाण्डूमा कति?

२०८० पुस ३ मंगलवार
NewsDesk ShikharNews
Spread the love

काठमाडाैं। यही डिसेम्बर दोस्रो साता भारतको छत्तीसगढ राज्यको रायपुरमा एउटा सानो समूहले ‘हिन्दूराष्ट्र नेपाल समर्थन यात्रा’ नामको कार्यक्रम गर्‍यो।

जय श्रीराम सेना सङ्गठन र आदित्यवाहिनी नामक दुई हिन्दूवादी सङ्गठनले ‘समर्थन यात्रा’सँगै त्यसै दिन उक्त राज्यका राज्यपालमार्फत भारतका राष्ट्रपतिलाई एउटा ज्ञापनपत्र पनि बुझाए।

ती संस्थाका सदस्यहरूबाट बीबीसीले प्राप्त गरेको ज्ञापनपत्रमा वर्तमान सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रको आलोचना गरिनुका साथै नेपाली नागरिकको चाहना अनुसार नेपाललाई हिन्दूराष्ट्र बनाउन भारत सरकारले समर्थन गर्नुपर्ने माग गरिएको छ।

त्यसमा नेपाल धर्मनिरपेक्ष भएपछि धर्मान्तरण बढेको दाबी गरिएको छ भने चीनको हस्तक्षेप बढेको र नेपालको अस्तित्व रक्षाका लागि पनि हिन्दूराष्ट्र र राजसंस्थाको आवश्यकता रहेको उल्लेख छ।

डिसेम्बर दोस्रो साता नै भारतको अयोध्यास्थित जानकी महल ट्रस्ट धर्मशालामा भएको भारत वर्षीय बाह्मण महासभाको राष्ट्रिय कार्यकारिणी बैठकको बन्द सत्रमा पनि नेपाललाई हिन्दूराष्ट्र बनाउनु पर्ने प्रस्ताव आएको त्यसमा सहभागी एक नेपालीले बताएका छन्।

तर बैठकले नेपालसम्बन्धी उक्त प्रस्ताव पारित नगरेको र निर्णयमा पनि त्यसबारे उल्लेख नगरिएको उनले दाबी गरे।

“दुई वर्षअघि संस्थाको नेपालमा भएको बैठकले नै पारित गरिसकेको प्रस्तावलाई दोहोर्‍याउनु जरुरी छैन भनेर त्यसलाई पारित गरिएन,” उक्त बैठकमा सहभागी भएको बताउने पशुपति क्षेत्र विकाष कोषका पूर्व सञ्चालक सदस्य अर्जुनप्रसाद बास्तोलाले भने।

उक्त संस्थाको विद्वत् परिषद्‌मा रहेकाले आफू बैठकमा सहभागी भएको बास्तोलाको भनाइ छ।

बास्तोलाका भनाइमा दुई वर्षअघि नेपालमा भएको महासभाको सम्मेलनले नेपाललाई धर्मनिरपेक्षबाट हिन्दू राष्ट्र बनाउन माग गर्ने निर्णय गरेको थियो।

नेपालमा विभिन्न समूहहरूले हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गरिरहेका बेला भारतमा पनि हिन्दूवादी संस्थाहरूले त्यसको समर्थनमा स-साना कार्यक्रमहरू गर्ने गरेका उदाहरण प्रशस्तै भेटिएका छन्।

पछिल्ला केही वर्षमा नेपालमा हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको माग गर्दै भारतमा विशेषगरी हिन्दूवादी धार्मिक सङ्गठनहरूले स-साना कार्यक्रमहरू गर्ने तथा ज्ञापनपत्र बुझाउने गरिरहेका छन्।

त्यसलाई नेपालमा हिन्दूराष्ट्र तथा राजसंस्था पुनर्स्थापनाको माग गर्नेहरूले ‘नागरिक तहको सद्भावपूर्ण समर्थन’ भन्ने गरेका छन् भने गणतन्त्रवादीहरूले आन्तरिक मामिलामा बाह्य हस्तक्षेप भन्दै त्यस्ता गतिविधिको विरोध गर्ने गरेका छन्।

कतिपयले विशेषगरी नेपालको तराई क्षेत्रमा भएका पछिल्ला साम्प्रदायिक सद्भाव बिथोल्ने खालका गतिविधिलाई पनि भारतमा भइरहेका ती घटनासँग जोडेर हेर्ने गरेका छन्।

भारतमा क्रियाशील नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्छ भन्ने सङ्गठनहरूको कुनै न कुनै रूपमा नेपालका हिन्दूवादी संस्थाहरूसँग सम्बन्ध रहेकाले पनि त्यस्तो आशङ्का उत्पन्न हुनु नौलो नभएको कतिपयको विश्लेषण छ।

केही विश्लेषकहरू भारतको सत्ताधारी हिन्दूवादी दल भारतीय जनता पार्टीसँग कुनै न कुनै रूपमा सम्बन्ध भएका हिन्दूवादी सङ्घसंस्थाहरू नै नेपालमा हिन्दूराष्ट्र पुनर्स्थापनाको मागमा अघि बढेको बताउँछन्।

त्यसले यस्ता गतिविधिमा भाजपाको पनि ‘मौन समर्थन’ रहेको उनीहरूको विश्लेषण छ।

यद्यपि भारतमै हिन्दूराष्ट्र नेपालको माग गर्दै कार्यक्रम गर्नेहरूले आफूहरूलाई भाजपाको समर्थन नरहेको र स्वतस्फूर्त रूपमा छिमेकी देशका नागरिकको माग अनुरुप मात्र आफूहरूले आफ्नै सरकारलाई घच्घच्याएको बताएका छन्।

रायपुरमा ‘हिन्दूराष्ट्र नेपाल समर्थन यात्रा’को आयोजना गर्ने जय श्रीराम सेना सङ्गठन रायपुरका अध्यक्ष गौरव सोलंकीले भने, “नेपालको मामिलाबारे भारत सरकारले निर्णय गर्ने हो। हामीले होइन। हामीले जनताको रूपमा माग राख्न त भारतको संविधानले अधिकार दिएको छ।”

“संविधानप्रदत्त अधिकार प्रयोग गरेर हामीले जनताका रूपमा नेपाली जनताको भावना अनुसार आफ्नो सरकारसँग नेपाल हिन्दू राष्ट्र हुनुपर्छ र त्यसलाई भारतले समर्थन गर्नुपर्छ भन्ने माग राखेका हौँ। यसमा यहाँको सरकार वा सत्ताधारी दल कसैको पनि संलग्नता छैन।”

उनले नेपाल र भारतबीच नागरिस्तरमा सम्बन्ध रहेको र सांस्कृतिक रूपमा एकै भएकाले पनि हिन्दूराष्ट्रको माग गरिएको बताए।

उनीहरूले आफ्ना कार्यक्रममा भारतको ओडिशास्थित पुरीमा रहेको गोवर्द्धन मठका शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वतीको तस्बिर पनि प्रयोग गरेका थिए।

निश्चलानन्द सरस्वती तिनै शंकराचार्य हुन जसले नेपाललाई ‘हिन्दूराष्ट्र’ भएको घोषणा गरेका थिए र गत वर्षको शिवरात्रिमा नेपाल पनि आएका थिए।

सोलंकीले तिनै शङ्कराचार्यलाई उल्लेख गर्दै “गुरुदेवको आशिर्वाद अनुरूप” नेपालमा हिन्दूराष्ट्रको समर्थनमा कार्यक्रम गरेको बीबीसीलाई बताए।

भारतमा नेपाल हिन्दूराष्ट्र हुनुपर्छ भन्नेबारे गतिविधिहरू नेपालले गणतन्त्रात्मक शासन व्यवस्था र धर्मनिरपेक्षता अपनाएदेखि नै हुँदै आएका छन्।

तर सन् २०१४ मा भाजपा त्यहाँको सत्तामा आएपछि त्यस्ता गतिविधिहरू बढेको र त्यसको प्रभाव नेपालको तराईसम्म घनीभूत रूपमा फैलिएको मान्नेहरू धेरै छन्।

नेपालमा हिन्दूराष्ट्र र राजतन्त्र पुनर्स्थापनाको वकालत गर्दै आएका योगी आदित्यनाथ नेपालसँग सीमा जोडिएको उत्तरप्रदेशमा मुख्यमन्त्री छन् भने उनले ज्ञानेन्द्र शाहलाई राजाकै रूपमा लखनऊमा पुगेका बेला स्वागत गरेको भन्ने चर्चाहरू पनि भएका थिए।

पछिल्ला महिनाहरूमा नेपालका विभिन्न स्थानमा हिन्दूराष्ट्रबारे माग गर्ने समूह र धर्मनिरपेक्ष पक्षधरबीच विवाद तथा झडपको स्थिति बन्न पुगेको थियो।

त्यस्ता गतिविधि बढाउनमा नेपालका हिन्दूवादी सङ्गठनहरूलाई प्रयोग गर्न भारतका त्यस्तै संस्थाको कुनै न कुनै खालको भूमिका रहेको हुनसक्ने कतिपयको आशङ्का रहेको छ।

यद्यपि त्यसको पुष्टिको आधार नभए पनि मधेश प्रदेशमै बसोबास गर्ने राजनीतिशास्त्रका एकजना प्राध्यापक हरेराम ठाकुर भन्छन्, “नेपालमा आरएसएसको अर्को रूप प्राज्ञिक परिषद् छ। यहाँ हुने गतिविधिमा उता (भारत) को केही न केही संलग्नता हुने गर्छ।”

“त्यो भनेको सोझै हात नहाले पनि घुमाएर नाक छोइदिए जस्तै हो।”

उनी नेपालमा गतिविधि गरिरहेका हिन्दूवादी सङ्घ सङ्गठनहरूको कुनै न कुनै साइनो भारतीय त्यस्ता संस्थासँग भएकाले पनि त्यसको प्रभाव पर्ने बताउँछन्।

प्राध्यापक ठाकुरका भनाइमा भारतमा भइरहेका गतिविधि र नेपालमा विस्तारित गतिविधि हेर्दा अब दलहरूले राजतन्त्रका पक्षमा नभए पनि हिन्दूराष्ट्रबारे पुनर्विचार गर्ने अवस्था आउनसक्ने बताउँछन्।

“मैले ठूला दलका ठूला नेताहरूका पछिल्ला भाषणहरू हेरिरहेको छु। उहाँहरूले गणतन्त्र र सङ्घीयताका पक्षमा जसरी प्रखर भएर बोलिरहनु भएको छ- धर्मनिरपेक्षताबारे त्यसरी बोल्नु भएको छैन। त्यसले पक्कै केही त सङ्केत गर्छ,” उनले भने।

उनका भाइमा बहुसङ्ख्यक हिन्दूहरू रहेको नेपालमा चुनावमा मत पनि उनीहरूकै बढी हुने भएकाले नेताहरूले पनि हिन्दूराष्ट्रको मागको प्रखर विरोध गर्न नसकिरहेका हुनसक्छन्।

भारतीय संस्थापनले अहिलेका ठूला दलहरूलाई नै समर्थन गरे पनि उसले घुमाएर नेपालमा पनि हिन्दूराष्ट्रको मागलाई मलजल गर्न भूमिका खेलको हुनसक्ने उनको आशङ्का छ।

उनी भन्छन्, “नेपालमा हुने गतिविधिमा भारत होस् वा चीन होस् छिमेकीहरूको प्रभाव रहेकै हुन्छ त्यसैले अहिले भारतमा भइरहेका गतिविधि र नेपालमा उठिरहेको मागबीच पनि केही न केही त छ भन्ने मलाई लाग्छ।”

नेपालमा राजसंस्था र हिन्दूराष्ट्र स्थापनाका लागि भन्दै भारतमा गरिएका गतिविधिलाई नेपालका हिन्दूवादी सङ्गठनहरूले प्रशंसा गरेका छन्।

विश्व हिन्दू महासङ्घकी कार्यवाहक अध्यक्ष अस्मिता भण्डारी भन्छिन्, “भारतमा हिन्दू राष्ट्रको माग उठाउनु हुँदैन भन्ने होइन। निश्चलानन्द सरस्वतीले उठाउनु भएकोमा हाम्रो पनि समर्थन छ।”

“भारतले जबरजस्ती हस्तक्षेप गरेर नेपाललाई हिन्दूराष्ट्र बनाउन खोजेको होइन। नेपालीको चाहना छ- हिन्दूराष्ट्रको र त्यसमा उहाँहरूको सद्भाव मात्र हो।”

उनले भारतमा भइरहेका गतिविधिमा त्यहाँका राजनीतिक दलहरू नजोडिएकाले पनि त्यसलाई राजनीतिक रङ्ग दिनुको अर्थ नभएको दाबी गरिन्।

बास्तोला पनि दुई देशका नागरिक-नागरिक बीचको सम्बन्धका कारण छिमेकी देशकका नागरिकले नेपालप्रति सद्भाव राखेको रूपमा मात्र भारतमा भएका गतिविधिलाई हेर्नुपर्ने बताउँछन्।

नेपालमा राजसंस्था र हिन्दूराष्ट्रको माग उठाइरहेको दल राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ “हिन्दूराष्ट्र पुनर्स्थापनाका लागि नेपालमा मात्र होइन संसारभरि नै नेपालका पक्षमा हुने गतिविधिमा आफूहरूको नैतिक समर्थन” रहने बताउँछन्।

उनी भन्छन्, “तर यसलाई गिजोल्ने र कमजोर बनाउने कुरा रह्यो भने हाम्रो असहमति रहन्छ। हामी धार्मिक तथा साम्प्रदायिक सद्भावको पक्षमा छौँ।”

उनले नेपालमा राजसंस्था र हिन्दूराष्ट्रको माग राख्ने “प्रमुख संवाहक शक्ति भएकाले” राप्रपाले भारतमा भएका नागरिकस्तरका गतिविधिलाई स्वभाविक रूपमा लिएको बताए।

बास्तोलाका भनाइमा नेपालमा ३०० जति हिन्दू धार्मिका संस्थाहरू रहेका छन् र उनीहरू सबैले नै नेपाललाई हिन्दूराष्ट्र बनाउनु पर्छ भन्ने मान्यता राख्छन्।

सत्ताधारी नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गणेश शाह चाहिँ नेपाललाई हिन्दूराष्ट्र बनाउने मागसहित भारतमा भइरहेका गतिविधिलाई “अन्तर्राष्ट्रिय प्रतिक्रियावादी गतिविधि” भन्छन्।

उनी भन्छन्, “नेपालमा गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षता हुने बित्तिकैदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरूले त्यसको विरोध गरेका हुन्। पछिल्ला घटनाहरू पनि त्यसैको निरन्तरताका रूपमा हामीले लिएका छौँ।”

“यो हामीले नै भ्रम चिर्न नसेकर हो। जनआकाङ्क्षालाई सम्बोधन गर्न नसक्दा पनि होला। यस्ता गतिविधिबाट आत्तिनु पर्दैन तर सचेत भएर प्रभाव न्यूनीकरण गर्न वाम-लोकतान्त्रिक शक्ति मिल्नु जरुरी छ।”