वैदेशिक सहयोग, दान, कर र क्रिप्टोकरेन्सी : हमासले कसरी खर्च जुटाउँछ?

२०८० माघ ६ शनिवार
NewsDesk ShikharNews
Spread the love

बीबीसी। यसको वित्तीय संरचना जटिल र अपारदर्शी छ। अनि यसको जरा गाजा स्ट्रिपभन्दा बाहिर पनि फैलिएको छ। हमासलाई अमेरिका र युरोपेली संघ ईयूले आतंककारी संगठन मान्छन्। यो लडाकु समूह अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीमा दशकौँदेखि प्रतिबन्धित छ।

यद्यपि यो समूहले गत अक्टोबरमा अचानक हजारौँ रकेट, ड्रोन र अन्य उच्च प्रविधियुक्त उपकरणहरू प्रयोग गर्दै इजरेलमा भीषण आक्रमण गर्‍यो। त्यसबाट यो समूहसँग साधन र स्रोतको कमी नभएको देखिन्छ।

हमास सन् १९८७ मा सुरु भएको इस्लामिस्ट आन्दोलन हो। यसका राजनीतिक र सैन्य शाखा पनि छन्। हमासको सैन्य शाखाको नाम ‘इज अल-दिन अल-कासम ब्रिगेड्स’ हो। त्यसले विगतमा पनि इजरेलविरुद्ध कैयौँ हमला र आत्मघाती बम विस्फोटनहरू गराएको थियो।

हमासले २३ लाखभन्दा बढी मानिस बसोबास गर्ने क्षेत्रको शासन गर्छ र त्यहाँ छुट्टै सरकार चलाउँछ। हमासअन्तर्गत झन्डै ५०,००० कर्मचारीहरू काम गर्छन्।

राजनीतिक र सामाजिक सङ्गठनको रूपमा हमासले जनताबाट कर उठाउँछ। अनि समान विचारधाराका विदेशी सरकार र परोपकारी संस्थाहरूबाट अन्तर्राष्ट्रिय सहायता प्राप्त गर्छ। अक्टोबर ७ को आक्रमणले यो सङ्गठनले सैन्य सामग्रीहरू पनि जुटाएको देखिन्छ। यो इस्लामिस्ट समूहले सन्देहास्पद रूपमा अन्तर्राष्ट्रिय लगानी गर्दै आएको छ। अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्न हमासले प्रायः क्रिप्टोकरेन्सी प्रयोग गरेको देखिन्छ।

सन् २००७ मा प्रतिद्वन्द्वी प्यालेस्टिनी समूह फतहमा विभाजन भएपछि कतारले टर्कीसँगै हमासलाई समर्थन गरेको थियो। अर्को वर्ष इजरेलले गाजामा नाकाबन्दी गर्दा कतारले गाजा स्ट्रिपमा प्यालेस्टिनीहरूलाई मानवीय सहायता प्रदान गर्ने निर्णय गर्‍यो।

सन् २०१२ मा कतारका तात्कालिक अमिर शेख हमाद बिन खलिफा अल-थानी हमास शासनअन्तर्गत रहेको गाजा भ्रमण गर्ने पहिलो राष्ट्रप्रमुख थिए। उनले त्यहाँ लाखौँ डलर सहायता प्रदान गर्ने वाचा गरे। अन्ततः इजरेलले पनि त्यसलाई अनुमोदन गरेको थियो।

सिरियाली गृहयुद्धका कारण हमासले दमास्कसस्थित आफ्नो मुख्यालय छोड्नुपरेको थियो। कतारले सन् २०१२ देखि हमासका नेताहरूलाई दोहामा बसोबास गर्न अनुमति दिएर राजनीतिक समर्थन प्रस्ताव गरेको छ।

हमासका नेता इस्माइल हानिया र उनका पूर्ववर्ती खालिद मेशाल दुवै कतारको राजधानीमा छन्। सन् २०२१ मा अफगानिस्तानको सत्तामा नफर्किँदासम्म तालिबान नेताहरू त्यसैगरी दोहामा बस्थे।

यसरी उक्त खाडी देश पश्चिमी शक्तिहरूले आतंकवादी मान्ने समूहहरूसँगको वार्तामा एउटा मुख्य पात्र बनेको छ। पश्चिमा देशहरूलाई आफ्नो देशमा विद्यमान कानुन र जनमतका कारण ती समूहसँग प्रत्यक्ष रूपमा वार्ता गर्न कठिन हुने थियो।

हमास र इजरेलबीच मध्यस्थकर्ताको यस्तो भूमिका परम्परागत रूपमा इजिप्टले निर्वाह गर्दै आएको थियो। अब कतार पनि त्यो स्थानमा आइपुगेको छ। हमासले इजरेलबाट बन्धक बनाएर लगेका मानिसको मुक्तिका लागि कतारले मध्यस्थता गरेको थियो।

कतार नेटोबाहिर अमेरिकाको एउटा महत्त्वपूर्ण सहयोगी हो। मध्यपूर्वमा सबैभन्दा ठूलो अमेरिकी सैन्य उपस्थिति कतारमा छ। तर गाजामा इजरेली नाकाबन्दीको असर घटाउन कतारले विगत केही वर्षमा प्यालेस्टिनीहरूलाई मानवीय सहायतास्वपरूप अर्बौँ डलर पठाएको छ। दोहाले उक्त रकम हमासका लागि नभई प्यालेस्टिनीहरूका लागि भएकोमा जोड दिन्छ।

कतारले उपलब्ध गराउने सहायता रकम कति हो भन्ने स्पष्ट छैन। तर विश्लेषकहरू उक्त सहायता सन् २०१४ यता एक अर्बदेखि २.६ अर्ब अमेरिकी डलरको हाराहारीमा रहेको अनुमान गर्छन्। कतारबाट प्राप्त सहयोग इजरेलसँगका कैयौँ युद्धपछि गा स्ट्रिप पुनर्निर्माणमा प्रयोग भएको छ।

सन् २०१६ मा कतारका अमिर शेख तमिम बिन हमाद अल-थानीले झन्डै तीन करोड डलर “गाजा स्ट्रिपमा दाजुभाइको दुःख र अन्यापूर्ण इजरेली कब्जाका कारण उत्पन्न उत्पन्न गम्भीर आर्थिक कठिनाइ कम गर्न” छुट्ट्याइएको बताएका थिए।

उक्त रकम मासिक रूपमा दिइयो। त्यसबाट गाजाका झन्डै ५०,००० कर्मचारीलाई तलब दिन, गाजा स्ट्रिपको विद्युत् आपूर्ति प्रणालीका लागि आवश्यक इन्धन किन्न र निकै गरिब परिवारहरूलाई मासिक १०० अमेरिकी डलर दिन खर्च गरिएको थियो।

कतारस्थित नोर्थवेस्टर्न यूनिभर्सिटीमा मध्यपूर्व मामिलाका प्राध्यापक खालिद अल-हरुबले बीबीसीलाई बताएअनुसार उक्त रकम अमेरिका र इजरेलसँगको समन्वयमा हस्तान्तरण गरिएको थियो।

“गाजालगायत प्यालेस्टिनी क्षेत्रमा आउने डलर सम्भवतः संसारमा सबैभन्दा बढी निगरानीमा पर्छ। अमेरिकी गुप्तचर निकाय अनि इजरेल, जोर्डन र इजिप्टले त्यस्तो रकममा आफ्नो दृष्टि पारिराख्छन् किनभने केही पैसा उनीहरूको ब्याङ्कमार्फत् पनि जान्छ।”

त्यो पैसा दोहाबाट इजरेलमा स्थानान्तरण गरिएको छ। लामो समयदेखि गाजा स्ट्रिपको उत्तरमा अवस्थित इरेज नाकाबाट कतारी दूतहरूले ब्रीफकेस भरेर पैसा लग्दै आएका थिए। पैसा प्राप्त भएपछि हुलाक कार्यालय र सुपरमार्केटमार्फत् अधिकारी र गरिब परिवारलाई सीधै वितरण गरिएको थियो।

केही विश्लेषकका विश्वासमा उक्त अन्तर्राष्ट्रिय सहायता रकमको केही अंश हमासको सशस्त्र एकाइतिर जान्छ। तर हमासले सधैँ त्यसलाई अस्वीकार गर्दै आएको छ। अल-हरुब पनि त्यस्तो कुनै प्रमाण नभेटिएको बताउँछन्।

“हमासको मुख्य आर्थिक चुनौती पार्टी वा त्यसको सशस्त्र एकाइलाई आर्थिक सहयोग गर्नु होइन, त्यो लगभग सजिलो कुरा हो। गाजामा पीडित लाखौँ प्यालेस्टिनीहरूलाई सहयोग गर्नु सबैभन्दा गाह्रो काम हो, र हमासले त्यसका लागि दबाव महसुस गर्छ।”

प्यालेस्टिनी विश्लेषकहरू कतार र अन्तर्राष्ट्रिय सहायताको रूपमा आउने रकमलाई “लक्षणको उपचार गर्दै दुखाइ घटाउने औषधि तर समस्याको जरा नखोज्ने विधि” मान्छन्।

गाजामा मुख्य मानवीय सहायता सङ्गठन यूएनआरडब्ल्यूए मध्यपूर्वमा प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय निकाय हो। यूएनआरडब्ल्यूएका एक प्रवक्ताले बीबीसीलाई बताएअनुसार उक्त निकायले सीधै सहायता वितरण गर्दै आएको छ।

यूएनआरडब्ल्यूएकको वार्षिक लेखा परीक्षण एउटा स्वतन्त्र निकायले गर्छ। “ठेकेदारहरू, आपूर्तिकर्ताहरू र कर्मचारीहरूलाई गरिने सबै भुक्तानी एउटा बैंकिङ एकाइमार्फत् मूल्यांकन हुन्छ। उक्त एकाइ प्रतिआतंकवादसम्बन्धी आर्थिक नियमअन्तर्गत सञ्चालित हुन्छ,” प्रवक्ताले बताए।

हमास ‘एक्सिस अफ रेसिस्टन्स’ भन्ने गठबन्धनमा छ। त्यसको नेतृत्व इरानले गर्छ। त्यसमा सिरिया र लेबननका इस्लामिक समूह हिज्बुल्लाह पनि छन्।

तिनमा भएको समानता भनेको इजरेलविरोधी र अमेरिकाविरोधी भावना हो। इजरेलको प्रभावलाई रोक्न र अयातोल्लाहको सरकारको अस्तित्व सुनिश्चित गर्न तेहरानले यस क्षेत्रमा सहयोगीहरूको सञ्जाल बनाएको छ। उक्त सञ्जाललाई इरानले “वित्त, प्रशिक्षण वा अस्त्र” सहयोग गर्ने गरेको च्याटम हाउसको मध्यपूर्व र उत्तर अफ्रिका कार्यक्रम हेर्ने निर्देशक सनम वकिलले आफ्नो एउटा लेखमा जनाएका छन्।

वकिलका अनुसार त्यसमा हमास र अन्य प्यालेस्टिनी प्रतिरोधी समूहहरू समावेश छन्। इरानले सन् १९९० को दशकयता तिनलाई समर्थन गर्दै आएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार हमास, इस्लामिक जिहाद र पप्युलर फ्रन्ट फोर दि लिबरेशन अफ प्यालेस्टाइनलाई वार्षिक १० करोड डलरजतिको सहयोग पाउँछन्।

प्यालेस्टिनी समूहले बसर अल-असदलाई समर्थन गर्न अस्वीकार गरेको थियो र सिरियाको गृहयुद्धमा हमास र इरानबीच असहमति थियो। तर वाशिङ्टन इन्स्टिट्यूट फोर निअर ईस्ट पोलसीका विश्लेषक म्याथ्यू लेभिट भन्छन्, “इरानले गर्ने आर्थिक सहायता कहिल्यै रोकिएको छैन। उनीहरूले राजनीतिक गतिविधिका लागि रकम खर्च गरेको हुन सक्छ। तर सशस्त्र समूहहरूको लागि आर्थिक सहायता जारी रह्यो।”

अल-हरुबका अनुसार, “हमासले इरानबाट वार्षिक कति पैसा पाउँछ भन्ने स्पष्ट छैन, तर उसले आर्थिक सहायता पाउँछ भन्ने कुरा चाहिँ छर्लङ्ग छ।” हमास नेता इस्माइल हानियाले सन् २०२२ मा अल-जजीराको अन्तर्वार्तामा इरान मुख्य दाता भएको र क्षेप्यास्त्र प्रणालीको विकासमा सात करोड डलर योगदान गरेको स्वीकार गरेका थिए।

हालै इजरेलमा हमासले गरेको हमलाको भोलिपल्ट रुसी च्यानल रसिया टुडेसँगको अन्तर्वार्तामा हमासका विदेश सम्बन्ध प्रमुख अलि बराकाले इरान आफ्नो दातामध्ये “पहिलो र प्रमुख” रहेको बताएका थिए। उनका अनुसार इरानले हमासलाई पैसा र हतियार दुवै उपलब्ध गराएको थियो।

हमासलाई तेहरानले गरेको भनिएको आर्थिक सहयोगको बारेमा बीबीसीले सोधेको प्रश्नको इरानको विदेश मन्त्रालयबाट कुनै प्रतिक्रिया प्राप्त गरेको छैन।

गाजामा प्रशासन चलाउने अख्तियारी प्राप्त निकायको रूपमा हमासले आयातबाट कर सङ्कलन गर्छ।हमासले सङ्कलन गर्ने करमा इजिप्टबाट सुरुङहरूमार्फत् हुने तस्करी र गाजा स्ट्रिपमा हुने अन्य व्यावसायिक गतिविधिको कमाइ पनि समावेश छ। यद्यपि प्रत्येक महिना त्यसरी कति पैसा उठ्छ भन्ने स्पष्ट छैन।

करसम्बन्धी आँकडा गाजाको अर्थ मन्त्रालयले गाजामा बीबीसीका संवाददाता रुस्दी अबुलोफलाई २०१६ मा बताएको १.५० करोड डलर र म्याथ्यू लेभिटजस्ता विश्लेषकहरूले ठानेका ३० देखि ४५ करोड डलरभन्दा फरक छ।

राष्ट्रसङ्घका अनुसार ४५ प्रतिशत बेरोजगारी दर र युद्धअघि जनसङ्ख्याको ८० प्रतिशतलाई मानवीय सहायता आवश्यक भएको अवस्थामा पनि गाजामा करको दर निकै उच्च छ।

“गाजा र वेस्ट ब्याङ्क एउटै कर्मचारीतन्त्रबाट सञ्चालित छन्, यद्यपि आयस्तरमा धेरै फरक छ,” अल-हरुब भन्छन्। हमासले “नाकाबन्दीको क्षतिपूर्ति गर्न” भन्दै अन्य करहरू पनि थप्दै आएको छ। चुरोट, जीन्स, सवारीसाधन वा विलासिता वा आधारभूत आवश्यकताका बाहेक अन्य खाद्य उत्पादनहरूको आयातमा चर्को कर लगाउँछ।

लेभिट “सबै चिजमा र अतिकाधिक कर लिँदा त्यो अन्ततः आपराधिक गिरोहले बलपूर्वक असुली गरे जस्तो” हुने धारणा राख्छन्। बढ्दो कर र शुल्कका कारण सर्वसाधारण मानिसमा अशान्ति र आयातकर्ताबाट केही विरोध पनि उत्पन्न भएको देखिन्छ। तर हमासले त्यो खेपिरहेको छ।

अमेरिकाको ट्रेजरी डिपार्टमेन्ट अफ फरिन एसेट्स कन्ट्रोल (ओएफएसी) का अनुसार हमासको झन्डै ५० करोडको सम्पत्ति भएको अन्तर्राष्ट्रिय लगानी कार्यालय छ।

ओएफएसीका अनुसार सुडान, टर्की, साउदी अरब, एल्जेरिआ र यूएईजस्ता देशहरूमा उक्त सञ्जालका कम्पनीहरू छन्। लगानीका ती क्षेत्रमा यसको शुरा काउन्सिल र हमासको कार्यकारी समिति तथा त्यसका शीर्ष नेताले नियन्त्रण र अनुगमन गर्छन्।

ओएफएसीले गत वर्ष हमासले “सम्पत्ति लुकाउन र शुद्धीकरण गर्न” प्रयोग गर्ने उसका अधिकारी, मध्यस्थकर्ता र कम्पनीहरूको सूची प्रकाशित गरेको थियो। वाशिङ्टनले हमासलाई आतंकवादी सङ्गठन मान्छ र उससँग व्यापार गर्ने पक्षलाई कारबाही गर्छ।

अमेरिकाले त्यसरी नाम उल्लेख गरेकामध्ये सुडानी खानी होल्डिङसम्बन्धी कम्पनी, टर्कीमा घरजग्गा कारोबार गर्ने कम्पनी र साउदी निर्माण कम्पनी छन्। गत महिना ओएफएसीले तेहरानमा हमासका प्रतिनिधि र इरानी रेभलूशनरी गार्ड्सका सदस्यहरू समावेश गरेर दोस्रो चरणको प्रतिबन्धको समेत घोषणा गरेको थियो।

अल-हरुबका अनुसार हमासले प्यालेस्टिनी क्षेत्र, अरब देशहरू र सहानुभूति राख्ने अरूबाट पाउने चन्दाले समेत आफ्नो खर्च जुटाउँछ। धार्मिक प्रचलनको दान अर्थात् “जकात” बाट पनि हमासले सहयोग पाउँछ। इस्लामिक परम्पराअनुसार खाँचोमा परेकाहरूलाई सहयोग गर्न प्रत्येक वर्ष व्यक्तिगत बचतको निश्चित अंश दान गर्नुपर्छ।

हमास अभियानका विभिन्न शाखा छन्। तिनले अनौपचारिक स्रोतबाट आर्थिक सहायता लिँदा हमासले पैसा आफ्नो सशस्त्र एकाइमा जाने बताउँदैन। अल-हरुबका अनुसार बरु उसले “विद्यालय, अस्पताल वा राजनीतिक अभियानका लागि” भनेर पैसा माग्छ। अल-अरुबले ‘हमास : पलिटिकल थट एन्ड प्र्याक्टिस’ र ‘हमास : अ बिगिनर्स गाइड’ नामक दुई पुस्तक लेखेका छन्।

दोस्रो इन्तिफादापछि अमेरिकाले आतङ्कवादी घोषणा गरेका समूहहरूलाई आर्थिक सहयोग रोक्न “वार अन टेरर” नामक अभियान सुरु गर्‍यो। त्यसपछि पनि “शुक्रवारको नमाजपछि गाजामा एकैदिनमा १५ लाख देखि २० लाख डलरसम्म जम्मा गर्न हमास सफल भएको” उनी सम्झन्छन्।

म्याथ्यू लेभिटका अनुसार हमासले परोपकारी संस्थाहरूमार्फत् पैसा उठाउँदा “त्यस्तो आर्थिक सहायता हमासलाई जाने भन्दैनन्, बरु उनीहरू रगतपच्छे बच्चाको तस्बिर” राख्छन्। त्यसबाट प्राप्त पैसाको ठूलो भाग अन्ततः सैन्य उद्देश्यका लागि प्रयोग हुने लेभिटको अनुमान छ।

सन् २०१९ यता केही दान क्रिप्टोकरेन्सीमार्फत् पनि भएको छ।

ब्लकचेन इन्टेलिजन्स टेक्नोलजी कम्पनी टीआरएम ल्याब्सका नीति तथा सरकारी मामिलाका प्रमुख एरी रेडबोर्डले बीबीसीसँग भने, “हमास क्रिप्टोकरेन्सी प्रयोग गर्ने वा कम्तीमा क्रिप्टोकरन्सीमा चन्दा माग्ने पहिलोमध्येको सङ्गठन थियो।” उनका अनुसार हमासले पहिला बिटकोइन प्रयोग गरेको थियो भने सन् २०२२ देखि डिजिटल मुद्रा ट्रोन पनि प्रयोग गर्न थालेको छ।

रेडबोर्डका अनुसार ठूलो मात्रामा रकम पठाउन परम्परागत मुद्राभन्दा क्रिप्टोकरेन्सीको प्रयोग छरितो हुन्छ। त्यसैले यो प्रविधि “कानुनी र गैरकानुनी दुवै खालका पात्रका लागि” निकै आकर्षक बनेको छ।

यद्यपि यो प्रविधि परिष्कृत रूपमा ‘ट्र्याक’ गर्न सकिन्छ। त्यसबाट इजरेली र अमेरिकी सरकारहरूले हमासले पाएको क्रिप्टोकरेन्सी दान पत्ता लगाउन सक्छन्।

टीआरएम ल्याब्सका अनुसार सन् २०२० मा अमेरिकी न्याय मन्त्रालयले हमाससँग सम्बन्ध देखिएका १५० वटा क्रिप्टोकरेन्सी ठेगाना जफत गरेको थियो। तिनले टेलिग्राम र वेबसाइटहरूमार्फत् आर्थिक सहायता मागिरहेका थिए।

रेडबोर्ड भन्छन्: “इजरेली अधिकारीहरूले हालैका वर्षहरूमा अन्य सयौँ ठेगानाहरू पनि कब्जा गरेका छन्। सन् २०२३ को एप्रिलमा हमासले दातालाई निसाना बनाउन थालिएको भन्दै क्रिप्टोकरेन्सीमा आर्थिक सहयोग सङ्कलन गर्न रोक्न लागिएको बताएको थियो।”

धेरै दान पाउँदा हमासले गर्ने हिंसा पनि बढ्छ। यद्यपि टीआरएम ल्याब्सले अक्टोबर ७ यता आर्थिक सहायता सङ्कलनमा उल्लेख्य वृद्धि भएको देखेको छैन। उसका अनुसार हमासले क्रिप्टोकरेन्सीबाट २०,००० डलर मात्र सहयोग पाएको छ।

“आतङ्कवादलाई आर्थिक सहायता जुटाउने गोरखधन्दामा क्रिप्टोकरेन्सी एउटा निकै सानो टुक्रा हो,” एरी रेडबोर्ड भन्छन्।