पोखरा जाऊँ, सडकमै रमाऊँ

२०७५ मंसिर १५ शनिवार
Newsdesk Shikharnews

काठमाडौं । अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा हुँदै आएको सडक महोत्सव पुस १३ देखि १७ सम्म फेवाकिनारमा हुने भएको छ । हरेक वर्ष जस्तै यस वर्षपनि सडक महोत्सव विविध कार्यक्रमका साथ गर्न लागिएको रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपालले बताएको छ ।

महोत्सवमा पर्यटकको स्वाद, रुचिअनुसार राष्ट्रिय तथा अन्तर्र्राष्ट्रिय परिकारका खाना सडकमै पाइनेछन् । मनोरञ्जनात्मक खेल, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकूद, वृत्तचित्र प्रदर्शनी, चर्चित कलाकारको प्रस्तुति सहितका कार्यक्रम तय भएका छन् ।

पोखरामा पर्यटन प्रवद्र्धनमा सहयोग पुराउन सडक महोत्सव गरिँदै आएको छ । विगत २० वर्षदेखि सडक महोत्सव हुँदै आएको छ । नयाँ वर्ष सन् २०१९ को स्वागत गर्दै व्यावसायिक हकहित संरक्षण, संवद्र्धनसँगै पर्यटकीय गतिविधिमा विशेष जोड दिइने बताइएको छ ।

पोखराको सहिद चोकदेखि खहरे, डिहीकोपाटनसम्म ३ किलोमिटरमा आयोजना हुने महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित लक्षित गरिएको छ ।

महोत्सवमा लोपोन्मुख भेषभूषा, कला संस्कृति, ग्रामीण भेगमा उत्पादित सामग्रीको बिक्रीलाई प्रोत्साहन गरिनेछ । महोत्सवलाई सभ्य बनाउन २६ सदस्यीय महोत्सव व्यवस्थापन मूल समिति गठन गरिएको छ ।