अब पहिलोपटक म्यान्मारको राजधानीमा भानुभक्तको सालिक बन्ने भो

२०७४ साउन ५ बिहीवार
NewsDesk ShikharNews

श्रावण ५, २०७४- नेपाली भाषासाहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती म्यान्मारमा पनि भव्यतासाथ मनाइएको छ । कवि गोष्ठी, पुरस्कार वितरण र भानुभक्तको सालिक निर्माणको निर्णयसहित अखिल म्यान्मार देशीय गोर्खा हिन्दु धार्मिक संघ, याङ्गुन शाखाले आदिकविको २०४ औं जन्मजयन्ती मनाएको हो ।
संघ अध्यक्ष सागर घिमिरेका अनुसार, राजधानी याङ्गुनस्थित राम–जानकी मन्दिरमा आयोजित समारोहमा म्यान्मारका लागि नेपाली राजदूत भीम उदासले नेपाली साहित्यमा भानुभक्तको योगदानबारे प्रकाश पारेका थिए । उनले याङ्गुनमा भानुभक्तको सालिक निर्माणका लागि सात लाख च्याट सहयोगसमेत घोषणा गरेको घिमिरेले जनाए ।
‘अब पहिलोपटक म्यान्मारको राजधानीमा भानुभक्तको सालिक बन्ने भो,’ अध्यक्ष घिमिरेले भने । सालिक निर्माणकै लागि आफूले पाँच लाख च्याट र काठमाडौंबाट नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलका अध्यक्ष शंकर घिमिरेले दुई लाख पचास हजार च्याट सहयोग गरेको घिमिरेले जनाए ।
घिमिरेका अनुसार कार्यक्रमका राजदूत उदासले भानुजयन्तीकै अवसरमा नेपाली साहित्य र संस्कृति केन्द्रित दुईवटा पुरस्कार पनि वितरण गरे । दुबसु प्रतिष्ठान पुरस्कार साहित्यतर्फ मोहनराज खनाल र संस्कृतितर्फ किशन कोइरालालाई दिइयो । खनाल साहित्यकार हुन् भने कोइराला गायक ।

म्यान्मारमा नेपाली साहित्य र संस्कृति प्रवद्र्धनमा योगदान पुर्‍याउने दुई जनालाई हरेक वर्ष यो पुरस्कार दिइँदै आएको घिमिरेले जनाए । त्यस्तै पं. यज्ञनाथ भट्टराई शास्त्री पुरस्कार साहित्यतर्फ कवि, गीतकार एवं गायक हीरा दाहाल र सामाजिक सेवातर्फ मेजर पूर्णबहादुर तिवारीलाई दिइयो । म्यान्मारमा सञ्चालित नि:शुल्क नेपाली पाठशालामा अध्ययनरत विद्यार्थीहरूको ग्रीष्मकालीन समूहका उत्कृष्टहरूलाई समेत कार्यक्रममा पुरस्कृत गरियो ।
भानुभक्तको सालिक बन्ने सुनेपछि काठमाडौंदेखि सहयोग गर्नेहरूसमेत निस्केकामा आफूहरू निकै हौसिएको घिमिरेले बताए । ‘भानुभक्तको महिमालाई म्यान्मारमा पनि संस्थागत गर्ने प्रयास सुनेपछि सहयोग गरेका हौं,’ नेपालबाट दुई लाख पचास हजार च्याट सहयोग गर्ने फ्रेन्डसिप काउन्सिल अध्यक्ष शंकर घिमिरेले भने, ‘यसले समग्र नेपालीको परिचय फराकिलो बनाउने काम गर्छ ।’