कतारका अमिरको भ्रमणको ठोस परिणाम चाँडै आउनेछ: मन्त्री बस्नेत

Vianet

कतारका अमिरको नेपाल भ्रमण सम्पन्न भएको छ। सरकारले तपाईंँलाई सवारी मन्त्रीको जिम्मेवारी दिएको थियो। अमिरको भ्रमणलाई कसरी लिनुभएको छ ?

Vianet

कतारका अमिरको नेपाल भ्रमण सम्पन्न भएको छ। यो भ्रमण आफैँमा महत्वपूर्ण र ऐतिहासिक छ। सबैसँग छलफल गर्ने र सामूहिकतामा विश्वास गर्ने उहाँको स्वभाव रहेछ। बैठकमा खुलस्त छलफल गर्ने अमिरको स्वभावका कारण पनि एक आपसमा भएका छलफल प्रभावकारी भएको मैले महसुस गरेको छु। राष्ट्रपति र प्रधानमन्त्रीसँगका भेटवार्तामा समेत मैले त्यो अनुभव गरेँ। सँगसँगै हिड्ँदाका क्रममा पनि कतारका अमिरले नेपालको समग्र पक्षबारे चासो राख्नुभएको थियो। उहाँको जिज्ञासु स्वभावले पनि धेरै विषयमा अन्तरक्रिया गर्न पाइयो। उहाँले नेपालका विभिन्न पक्षबारे व्यक्त गर्नुभएको चासोदेखि नेपालप्रति उहाँको दृष्टिकोण निकै सकारात्मक भएको मैले पाएको छु। उहाँको दुई दिने भ्रमणमा म उहाँको साथमै रहेँ। उहाँसँगको सामिप्यताबाट कतारका अमिरले नेपाललाई माया पनि गर्नुहुने र कतारमा कार्यरत नेपाली श्रमिकमाथिको उच्च भरोसा र सम्मान रहेको पाएँ। नेपालबारे पनि राम्रो ज्ञान रहनुका साथै नेपालप्रति चासो र सद्भाव पनि उहाँले सो क्रममा व्यक्त गर्नुभएको थियो।

कतारले पूर्वाधार विकासमा जुन खालको प्रगति गरेको छ। त्यसमा नेपाली श्रमिकको योगदान महत्वपूर्ण र उल्लेखनीय छ भन्ने गहिरो अनुभूति अमिरमा रहेको मैले पाएँ। नेपालप्रति उहाँको सकारात्मक अनुभति रहेको समेत अनुभव गरेँ । प्रकृतिप्रेमी भएकाले पनि नेपालप्रति उहाँमा विशेष आकर्षण रहेछ। नेपालीले कतारको निर्माण क्षेत्रमा निर्वाह गरिराखेको भूमिका कारण पनि नेपालप्रतिको दृष्टिकोण सकारात्मक रहेको पाएँ। भ्रमणका क्रममा नेपाल सरकार र नेपालीले देखाएको सद्भाव र सत्कारको उहाँले मुक्तकण्ठले प्रशंसा गर्नुभयो। यस भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ चरणमा प्रवेश गरेको मैले महसुस गरेको छु। यो आफैँमा महत्वपूर्ण छ। यो कुरा दुवै पक्षबाट छलफलका क्रममा समेत अभिव्यक्त भयो।

भौतिक पूर्वाधार निर्माणमा कतारले गरेको प्रगति र अमिरको भ्रमणपछि त्यस क्षेत्रमा के कस्तो सहयोग रहला ? द्विपक्षीय भेटवार्ताका क्रममा के कस्ता छलफल भए ?

ऊर्जा (जलविद्युत् र नवीकरणीय), पर्यटन र कृषिलगायत क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्ने विषयमा दुई पक्षबीच महत्वपूर्ण छलफल भएका छन्। कला, संस्कृति, पर्यटन प्रवर्द्धनलगायत क्षेत्रमा पनि दुई देशबीचमा समझदारी भएका छन्। निजी क्षेत्रबाट पनि दुईवटा महत्वपूर्ण समझदारी भएका छन्। यी उपलब्धिलाई अहिले सुरुआतका रुपमा लिन सकिन्छ। आगामी दिनमा विभिन्न क्षेत्रमा सहकार्य गरी अघि बढ्नेमा पनि समझदारी भएका छन्। दुई मुलुकबीचको सहकार्यलाई व्यवस्थित गर्न बाटो खुलेको हामीले महसुस गरेका छौँ। जसका लागि दुई देशले संयुक्त कार्यदल नै बनाएर सहकार्य र सहयोगका क्षेत्र पहिचान गर्ने सहमति पनि भएको छ।

वार्ताका क्रममा दुई देशका उच्च तहको सहभागितामा कार्यसमूह बनाउने समझदारी भएको छ भन्नुभयो। त्यसले के कस्ता विषयलाई सम्बोधन गर्ला ?

विषयगत कार्यसमूह बनाएर काम अगाडि बढाउने सहमति भएको छ। द्विपक्षीय रुपमा भएको यस सहमतिले आगामी दिनमा ठोस आकार ग्रहण गर्नेछ। केही दिनपछि हुन लागेको तेस्रो लगानी सम्मेलनमा पनि त्यसको अनुभूति हामीले गर्न पाउनेछौँ। त्यसमा मेरो विश्वास छ।

अमिरको यसपटकको भ्रमणको उपलब्धि दीर्घकालमा देखिन्छ भन्ने यहाँको विश्वास हो ?

निश्चय नै। अहिले भएका विषय संकेत मात्रै हुन् भनेस बुझ्न सकिन्छ। लगानी सम्मेलनबाट थप प्रष्ट हुन्छ भन्ने मेरो विश्वास छ। दुई देशबीचको सहकार्य नयाँ चरणमा प्रवेश गरेको अनुभति भएको छ। खाडी मुलुकबाट पहिलो पटक भएको यसप्रकारको उच्चस्तरको भ्रमणले भविष्यमा महत्वपूर्ण अर्थ राख्ने नै छ। लाखौँ नेपाली खाडी मुलुकमा रहेका अवस्थामा पनि यो भ्रमणको विशिष्ट महत्व छ। यसलाई व्यवस्थित गर्ने र द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनका लागि भ्रमणले आधार प्रदान गरेको छ।

भ्रमणका क्रममा कतारका अमिरले प्रधानमन्त्रीज्यूलाई कतार भ्रमणको निम्ता पनि दिनुभएको छ। प्रधानमन्त्रीले पनि चाँडै उपयुक्त समयमा कतार भ्रमण गर्ने वचन दिनुभएको छ। छोटो समयका लागि भएको यस भ्रमणमा के सम्झौता भयो र के लेखियो भन्ने कुराले मात्रै भ्रमणको महत्वलाई सीमित गर्दैन। भ्रमणको महत्व दूरगामी, व्यापक र महत्वपूर्ण पनि हुन्छ। मलाई विश्वास छ, यस भ्रमणको ठोस उपलब्धि समयक्रमसँगै व्यवहारिक रुपमा पनि देखिने छ।

कतारले भौतिक पूर्वाधारका क्षेत्रमा लोभलाग्दो प्रगति गरेको छ, यसअघि कतारले केही जलविद्युत् आयोजनामा लगानी गर्ने विषय उठाएको थियो। राष्ट्रपति र प्रधानमन्त्रीसँगको भेटमा पनि यहाँ सहभागी हुनुभयो। ती विषयमा उहाँहरुको धारणा के पाउनुभयो ?

ऊर्जा क्षेत्रमा उहाँहरुको निकै चासो भएको पाइयो। उहाँहरु वातावरणप्रति पनि गहिरो चासो र सरोकार रहेको पनि पाइयो। जलविद्युत्को क्षेत्रमा सहकार्य गर्ने उहाँहरुको इच्छा छ। हामीले त्यसलाई सकारात्मक रुपमा लिएका छौँ। हामीले पनि सहकार्यका निम्ति आग्रह गर्‍यौँ। ऊर्जा क्षेत्रमा पनि केही सकारात्मक परिणाम आउने विश्वास छ।

नेपाल र कतारबीच श्रम सम्झौताको पुनरावलोकन गर्ने विषय अभिव्यक्त हुँदै आएको थियो। यी विषयमा के कुराकानी भयो ?

भ्रमणका क्रममा छलफल भएका विषयलाई मूर्त र व्यवस्थित रुप दिन कार्यसमूह निर्माण गर्ने समझदारी भएको छ। श्रम सम्झौता पुनरावलोकनको विषयमा सकारात्मक छलफल भएको छ। यसले सकारात्मक वातावरण बनाएको छ। कतारका अमिरले आफूले निकै सकारात्मक प्रभाव लिएर फर्कदै छु भनेर भन्नुभएको छ। भ्रमणबाट दुई देशबीचको सम्बन्ध अर्को चरणमा प्रवेश ग¥यो भन्ने खालका अभिव्यक्ति पटक–पटक दोहोर्‍याउनुभएको थियो। यी सबै विषयलाई व्यवस्थित बनाउन कार्यसमूह बनाएर अघि बढ्ने समझदारी बनेको छ।

कतारका अमिरको नेपाल भ्रमणलाई ऐतिहासिक अर्थमा ग्रहण गर्न सकिन्छ। मलाई लाग्छ, खाडी मुलुक नेपालीको प्रमुख श्रम गन्तव्य हो। खाडी क्षेत्रबाट यो स्तरको पहिलो भ्रमण हुनु आफैँमा ऐतिहासिक छ। कतारको अमिरको नेपालमा उपस्थितिले मात्रै होइन, द्विपक्षीय छलफलमा उठेका विषयवस्तुका दृष्टिबाट हेर्दा पनि भ्रमण महत्वपूर्ण भएको छ। त्यसलाई परिणामुखी बनाउन तत्काल जुन ढंगले पहलकदमी अघि बढाउने समझदारी भएको छ, त्यो दृष्टिबाट हेर्दा पनि यस भ्रमण निकै महत्वपूर्ण र उपलब्धिमुलक रह्यो भन्न सकिन्छ।

taximandu

प्रतिक्रिया

शिखरन्युज प्राइभेट लिमिटेडद्वारा संचालित

सुकेधारा, काठमाडौ, नेपाल
न्युज हटलाईन : ९८१३१२२०२२
shikharnews.tv@gmail.com
सुचना बिभाग दर्ता नम्बर – ९५/०७३-७४

प्रकाशक/अध्यक्ष : राम बहादुर खत्री
प्रबन्ध निर्देशक : कमल गौतम (समीप)
सम्पादक : कमल पुलामी
सल्लाहकार : भीष्म ओझा
बजार प्रबन्धक : सरु बान्तावा

© 2025 Copyright Shikharnews PVT LTD | All rights reserved

ताजा समाचार

ट्रेन्डिङ